शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

मासुलगायत कृषिवस्तु निर्यातका लागि थप सहजीकरण गरिदिन चीनसँग नेपालको आग्रह

शुक्रबार, भदौ १३ २०८२
मासुलगायत कृषिवस्तु निर्यातका लागि थप सहजीकरण गरिदिन चीनसँग नेपालको आग्रह

बैठकमा नेपालको कृषिउपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ।

काठमाडौं- नेपालले मासु, दुग्ध पदार्थ, तरकारी एवं फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसमक्ष आग्रह गरेको छ।

चीनको भन्सार प्रशासन र कृषि तथा पशुपक्षी मन्त्रालयका उच्च अधिकारीबीच बिहीबार काठमाडौंमा भएको द्विपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मकरुपमा लिएको जनाएको छ।

नेपालबाट थर्मलरुपमा प्रशोधित भैँसीको मासु र भैँसीको कार्टीलेज (कुरकुरे हाड) निर्यातका अलावा दुग्ध पदार्थहरु विशेषगरी घ्यू, नौनी ,वटर तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ। त्यस्तै, हेलेज साइलेज पशु आहार निर्यातका लागि पनि द्विपक्षीय बैठकमा नेपालले कुरा राखेको छ।

कृषिमन्त्री रामनाथ अधिकारी र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनसहित बसेको द्विपक्षीय बैठकमा नेपालले कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल,चिया तथा कफी र जडीबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन पनि आग्रह गरेको छ।

हाल नेपालबाट ३४ प्रकारका कृषिवस्तुहरु ६१ वटा कम्पनीमार्फत निर्यात हुँदै आएको छ। त्यस्तै, हरियो घाँस हेलेज ५ वटा कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ। नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीनसँग प्रस्ताव गरेको छ।

बैठकमा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्गले चीनले नेपालबाट कृषिवस्तु निर्यातको विषयलाई उच्च महत्व दिएको बताए। 'एक सयभन्दा बढी देशहरुबाट यस्ता प्रस्तावहरु आउने गरेको भए पनि छिमेकी मुलुकको रुपमा हामीले नेपाललाई महत्व दिएर प्रयासहरु अघि बढाएका छौँ', बैठकमा उनले भने, 'व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन त्यसैले दुवै देशको संयुक्त प्रयासमा यो गाह्रो र जटिल छैन, सहजीकरण गर्न हामी तयार छौँ।'

बैठकमा कृषिमन्त्री अधिकारीले नेपालबाट मासु निर्यातका लागि आधारभूत सर्त खोरेतमुक्त क्षेत्र घोषणा गर्नेलगायतका प्रक्रियादेखि चीनको क्वारेन्टाइन मापदण्ड पूरा गर्नका लागि प्रयास भइरहेको र सुन्तला जातका फलफूल निर्यातका केही सर्तमा लचकता अपनाइदिनसमेत चिनियाँ पक्षलाई आग्रह गरेका थिए।

द्विपक्षीय बैठकमा नेपालको कृषिउपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ।

बैठकमा मन्त्रालयका तर्फबाट सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा, डा. दीपक कुमार खराल र सहसचिवहरु सहभागी थिए भने चिनियाँ टोलीमा चीनको भन्सार प्रशासनका अधिकारीहरु सहभागी थिए।


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend