शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नेपालमा मनसुन थप सक्रिय हुँदा केही ठाउँमा अतिभारी वर्षा

शुक्रबार, भदौ १३ २०८२
नेपालमा मनसुन थप सक्रिय हुँदा केही ठाउँमा अतिभारी वर्षा

स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बंगालको खाडीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ।

काठमाडौं- पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ। पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् मुसलधारे वर्षा भएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी, तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको बताइन्।

विभागका अनुसार पर्वतको पञ्चासेमा पनि १७९ दशमलव तीन मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा मापन हो। यस्तै, बाँकेमा पनि १४६ दशमलव तीन मिलिमिटर वर्षा भएको छ।

यसैगरी, दाङमा १३८, दार्चुलामा १०७, सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको छ भने १२ भन्दा बढी स्टेसनमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ। धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ। मौसमविद् मानन्धरले आज दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने र भोलि भने केही कम हुने बताइन्।

स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बंगालको खाडीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशमा बढी मनसुनी प्रभाव रहेको र मौसमी बदली भने देशैभरि रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend