झापा- कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ। माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो। तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुन सकेको छैन।
किसान तथा कम्पनीले व्यावसायिकरूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन्। दुवै प्रकारका माछापालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूले बताए।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा दुई हजार ४४२ हेक्टर क्षेत्रफलमा पोखरी बनाएर कार्प जातको माछापालन गरिएको थियो। त्यसअघि आव २०८०/८१ मा दुई हजार १६ हेक्टर क्षेत्रफलमा मात्र माछापालन गरिएको उनले बताए। कार्प जातका माछाको उत्पादन बढेको छ। उक्त माछा आव २०८०/८१ मा नौ हजार ३७७ मेट्रिकटन उत्पादन भएको थियोभने आव २०८१/८२ मा उत्पादन बढेर ११ हजार ७६ मेट्रिकटन पुगेको छ।
उपभोक्ताले रुचाउन माछाको अर्को जात पङ्गासको पनि उत्पादन र माछापालन क्षेत्रफल दुवै वृद्धि भएको छ। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएअनुसार आव २०८१/८२ मा पङ्गास माछा कोशी प्रदेशमा तीन हजार ३९९ मेट्रिकटन उत्पादन भएको थियो। जबकि आव २०८०/८१ मा यो माछा दुई हजार ३६६ मेट्रिकटन मात्र उत्पादन भएको थियो।
निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा आव २०८१/८२ मा पङ्गास माछापालन गरिएको पोखरीको सङ्ख्या चारसय १३ र आव २०८०/८१ मा मात्र चारसय पाँच रहेको थियो। आव २०८१/८२ मा यो माछापालन भइरहेको क्षेत्रफल एक सय १० हेक्टर र आव २०८०/८१ मा ७८ हेक्टर रहेको थियो।
पहाडमा बग्ने सफा पानीमा पालिने रेन्बो ट्राउटको माछापालन भने घटेको छ। आव २०८०/८१ मा ४३ वटा पोखरीमा यो माछापालन गरिएको थियो भने आव २०८१/८२ मा घटेर २९ भएको निर्देशनालयले जनाएको छ।
कोशी प्रदेश सरकारले माछापालनमा जोड दिँदै आएता पनि आवश्यकता धान्ने गरी उत्पादन बढाउन सकेको छैन। मत्स्य विकास अधिकृत लिम्बूले प्रदेशमा प्रतिव्यक्ति वार्षिक ११ केजी ५०० ग्राम माछा उपभोग हुने गरेको बताए।
जबकि आव २०८०/८१ मा उत्पादनको उपलब्धता वार्षिक प्रतिव्यक्ति एक केजी ८०० ग्राम र आव २०८१/८२ मा दुई केजी २६० ग्राम रहेको उनले बताए। प्रदेशमा खपत भएअनुसारको उत्पादन बढाउन नसक्दा अझै पनि भारतबाट आयातित माछामा निर्भर हुनुपर्ने बाध्यता छ। कोशी प्रदेशका ५६ वटा सिमसार पोखरीमा माछापालन गरिएको छ। रासस