शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

परम्परागत आरन पेसासँगै बाँचेका रामकुमार बराइली

शुक्रबार, भदौ १३ २०८२
परम्परागत आरन पेसासँगै बाँचेका रामकुमार बराइली

'छोरा-नाति कसैले सिक्न चाहेनन्, सबैको सपना सहर वा विदेशमै छ। अब मेरोपछि यो काम सकिने भयो,' उनको चिन्ता छ।

झापा- हल्दीबारी गाउँपालिका-गोलधाप बजार। बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए। तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो। सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटिरहेका थिए।

शरीर कमजोर भए पनि उनको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै छ। कारण-जीवनसाथी जस्तै बनेको आरन, हथौडा र फलामसँगको नाता। बराइलीको जन्म धनकुटाको पाख्रिबासमा भएको हो।

बाल्यकालदेखि नै आरन-हथौडा देखेर हुर्किएका उनी २०३४ तिर झापाको साविक गोलधाप बजार आए। यहाँ आएपछि उनले ‘दुर्गा फलाम रिपयरिङ सेन्टर’ नामक पसल खोजेर कुखुरी, बञ्चरो, हँसिया, चुलेसीजस्ता दैनिक जीवनमा प्रयोग हुने औजार बनाउन थाले। 'धान रोप्ने बेला किसान हँसिया ‘माग’ गर्न आउँथे, मकै टिप्ने बेला चुलेसी बनाइदिन भन्थे। कसैको घरमा चक्कु बिग्रियो भने मर्मतका लागि यही पसल खोजिन्थ्यो', बराइली भन्छन्।

बराइलीका अनुसार सुरुदेखि नै कामको कमी कहिल्यै भएन। तर आज उमेरले ७० वर्ष टेक्दा साथीमध्ये कतिले पेसा छाडिसके, कतिले बुढ्यौलीले काम गर्न सकेनन्। बराइली अझै पनि पसलमै दिन बिताउँछन्। बिहान पसल सफा गर्छन्, फलाम तताउँछन् र हातले कुटेर औजार बनाउँछन्।

जीवनमा धेरै उतारचढाव देखेका उनी हाल श्रीमतीसँगै गोलधापमा बस्छन्। दुई छोरी विवाह गरेर आ-आफ्नो घरमा छन्। एक छोरा भारतीय सेनामा, अर्को दुबईमा वैदेशिक रोजगारीमा छन्। सन्तान बिर्तामोडमा बस्छन् तर बराइलीलाई भने गोलधापकै पसल प्रिय छ।

'मेरो जीवन यही आरनमै बित्यो, यही मेरो घर हो', बराइली भावुक हुँदै भन्छन्। तर उनीसँगै यो सीप हराउने डर पनि बढेको छ। 'छोरा-नाति कसैले सिक्न चाहेनन्, सबैको सपना सहर वा विदेशमै छ। अब मेरोपछि यो काम सकिने भयो,' उनले दुःखेसो पोखे।

बराइलीमात्र होइन, देशभर परम्परागत सीप बोकेका कारिगर लोपोन्मुख अवस्थामा छन्। बढैया, शिल्पी, कामी वा लोहार सबैलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ। तर, बराइलीजस्ता सीपधारीहरू हाम्रो समाजका लागि जीवित प्रेरणा हुन्।

जीवनभर पुर्ख्यौली पेसालाई अँगालेका उनले परिवार पाल्न सके, समाजलाई योगदान दिए। तर अहिले उनको आरनमा गुन्जिने फलामको आवाज क्रमशः मन्द हुँदै गएको छ। बराइली भन्छन्, 'म यो आरनसँगै बाँचेँ, यहीँ मर्छु पनि। तर यो सीप बाँचिराखोस् भन्ने मेरो चाहना हो।'

उनको चाहना केवल व्यक्तिगत इच्छामात्र होइन, मौलिक सीप जोगाउन समाज र सरकार दुवैको चुनौती पनि हो। अब प्रश्न उठ्छ - हामी मौलिक पेसा जोगाउन तयार छौँ वा बराइलीसँगै हराउँदै जान दिनेछौँ? रासस


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend