काठमाडौं- सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको छ। अध्यक्ष सिफारिसका लागि भन्दै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको हो।
समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल रहेका छन्।
बीमा ऐनअनुसार नै सम्बन्धित क्षेत्र हेर्ने योजना आयोगका सदस्यको संयोजकत्वमा सिफारिस समिति बनाउनुपर्छ। जसमा अर्थसचिव र एक विज्ञ सदस्य हुनुपर्छ।
यो समितिले अध्यक्ष सिफारिसका लागि सरकारलाई तीन जनाको नाम सिफारिस गर्छ र त्यसबाट सरकारले एकजनालाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ।
यसअघिका अध्यक्ष शरद ओझालाई सरकारले आचरणअनुसार काम नगरेको र कार्यमक्षमतामा प्रश्न उठाउँदै बर्खास्त गरेको थियो। आफैले नियुक्त गरेका ओझालाई सरकारले छ महिनामै बर्खास्त गरेको हो। ओझा बर्खास्त भएसँगै अर्थले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको हो।