शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बर्सातमा जहिल्यै जोखिमपूर्ण पृथ्वीराजमार्ग

बिहीबार , भदौ १२ २०८२
बर्सातमा जहिल्यै जोखिमपूर्ण पृथ्वीराजमार्ग

सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको स-साना पहिरोले अधिकांश सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ।

धादिङ- कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ। तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन्।

विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिखेर कहाँनेर पहिरोले बाटो थुनिने हो पत्तो हुँदैन। डोजरले खारिएका भित्ताबाट झर्ने ढुंगामुढाबाट जोगिन धौधौ पर्छ। काठमाडौंदेखि धादिङसम्मको माइक्रोबस चालक विकास श्रेष्ठ भन्छन्, 'हिजोआज त सडकको खाल्डोमा भन्दा आँखा पहिरो झर्ने ठाउँमा पुर्‍याउनुपर्छ।'

बुधबारदेखि यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ। ठाउँ ठाउँमा स-साना पहिरोले सडक थुनिने र सञ्चालन हुनेक्रम चलिरहेको छ। घण्टौँ कुर्नुपर्ने गरी भने सडक थुनिएको छैन। त्रिभुवन राजपथको नागढुंगा-नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्ड बर्खा लागेसँगै जोखिमपूर्ण छ।

सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको स-साना पहिरोले अधिकांश सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ। आधा काम गरेर बाँकी रहेको स्थानका खाल्डाखुल्डीले साना ठूला सबै सवारीसाधन गुडाउन गाह्रो छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमाल भन्छन्, 'पृथ्वी राजमार्ग यतिबेला जोखिमपूर्ण छ। तर, हिँड्नै नसक्ने अवस्थाको छैन।'

पहिरो र गेग्रानले सडक छियाछिया छ। सडकमा हरेकले चालक होसियार भएर ट्राफिक नियमको पालना गर्ने हो भने मात्र सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ। मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ। घाम लागेको बेला अधिकांश स्थान धुलाम्मे हुन्छ। पानी पर्‍यो भने त्यही धुलो लेदोमा परिणत भएर चिप्लो हुने गर्छ।

'कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन चौबिसै घण्टा हामी खटिरहेका छौँ', जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले भने।

नागढुंगा नौबिसे क्षेत्रका पहिरो पूर्णरुपले थामिएका छैनन्। कृष्णभीरदेखि मुग्लिनसम्मको सडकमा जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्न सक्ने जोखिम छ। नागढुंगादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा हरेक समय कही न कही सडक एकतर्फी बन्छ। निर्माणधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुवैतर्फ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइरहेको श्रेष्ठले जानकारी दिए।

नागढुंगाको चेकपोष्ट पृथ्वी राजमार्गमा दैनिक कति सवारी काठमाडौं भित्रिन्छन् र कति बाहिरिन्छन् यकिन तथ्यांक छैन। सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वको बेला २० हजारसम्म सवारी आउजाउ हुने प्रहरीको अनुमान छ। रासस


प्रकाशित : बिहीबार , भदौ १२ २०८२१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend