काठमाडौं- भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्टान्डर्डस् काउन्सिल (पीसीआई एसएससी) को दक्षिण एसिया क्षेत्रीय बोर्ड सदस्य चयन भएको छ।
यस बोर्डमा नेपालबाट छनोट हुने एकमात्र संस्था एससीटी छ भने एससीटीका अतिरिक्त गुगल इंक, नेसनल पेमेन्टस कर्पोरेसन अफ इन्डिया (एनपीसीआई), युरोनेट यूएसए एलएलसी जस्ता भुक्तानी क्षेत्रका ठूला संस्थाहरुको समेत प्रतिनिधित्व रहनेछ।
पीसीआई एसएससी एक विश्वव्यापी मञ्च हो, जसले पीसीआईडीएसएस लगायतका अन्तर्राष्ट्रिय भुक्तानी सुरक्षाका मापदण्डहरूको विकास र प्रवर्द्धन गर्दै भुक्तानी कारोबारमा निहित साइबर जोखिम र सुरक्षा जोखिमहरू न्यूनीकरण गर्न र रोक्न सहयोग पुर्याउँछ।
क्षेत्रीय संलग्नता बोर्ड (आरईबी) का सदस्यका रूपमा एससीटीले दक्षिण एसियामा भुक्तानी सुरक्षासम्बन्धी चुनौतीहरू र अवसरबारे पीसीआई एसएससीलाई परामर्श प्रदान गर्नेछ। मापदण्ड र कार्यक्रम विकाससम्बन्धी सुझाव तथा प्रतिक्रिया दिनुका साथै दक्षिण एसियाभर पीसीआई एसएससीका मापदण्ड र उत्कृष्ट अभ्यासबारे शिक्षा तथा सचेतना बढाउन मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ।
स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे उक्त सम्मानले नेपाल र दक्षिण एसियामा सुरक्षित डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने एससीटीको प्रतिबद्धतालाई पुष्टि गर्ने दाबी गर्छन्। उनी भन्छन्, 'हामी हाम्रो भुक्तानी कार्डको विशेषज्ञतामार्फत योगदान गर्न र भुक्तानी प्रणालीलाई अझ सबल बनाउने हेतु क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन तात्पर छौँ।'