शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बाढीपहिरोले देशभरका नौ सडकखण्ड पूर्ण अवरुद्ध, १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

बिहीबार , भदौ १२ २०८२
बाढीपहिरोले देशभरका नौ सडकखण्ड पूर्ण अवरुद्ध, १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

सडक विभागको सूचना अनुसार मुलुकभरका ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड पूर्ण खुलेका छन्।

काठमाडौं- अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन्। स

डक विभागका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा छन्। मुलुकभरका ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड पूर्ण खुलेका छन्।

सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारीसाधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मतकार्यलगायतका कारण सडक अवरुद्ध भएको जानकारी दिए। उनले भने, 'कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारणमर्मत गरेर सडक सुचारु हुन सकेको छैन। कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ।'

विभागका अनुसार यही असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी-त्रिशुली-मैलुङ-स्यापुबेशी-रसुवागढी सडकखण्ड अझैसम्म पूर्णरूपमा अवरुद्ध भएको छ। यसैगरी, हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ।

पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर-दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको विभागको तथ्यांकमा उल्लेख छ। यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा-मुलघाट-माझीटार-अमरापुर डाँडा-गणेशचोक सडकखण्ड अवरुद्ध भएको विभागले जनाएको छ।

तातोपानी-टिमुरेस्थित ठोरी-रसुवागढी सडक पनि पूर्णरूपमा अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ। विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु-मरिम सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ।

'रोल्पाको सहिद राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ। निरन्तरको वर्षापछि पहिरो खसिरहेकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ,' विभागको तथ्यांकमा उल्लेख छ, 'दैलेखको सुर्खेत-तल्लो डुगेश्वर-जुम्ला सडकखण्ड समेत लगातार सुख्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो सुचारु हुने काम भइरहेको छ। यसैगरी अरनिको राजमार्गको सिन्धुपालचोकस्थित सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।' रासस


प्रकाशित : बिहीबार , भदौ १२ २०८२१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend