म्याग्दी- म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा दुई वटा फलफूल चिस्यानगृह निर्माण भएका छन्।
परियोजनाले १५ लाख रूपैयाँको लागतमा बागलुङ नगरपालिका-१० भकुण्डे र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ झारकोटमा त्यति नै रकम खर्चेर चिस्यानगृह निर्माण गरेको हो।
दुवै चिस्यानगृहमा १० मेट्रिक्टन फलफूल भण्डारण गर्न सकिने परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए। म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा प्रशस्त स्याउ र सुन्तला उत्पादन हुने भएकाले प्राथमिकताका साथ चिस्यानगृह निर्माण गरिएको हो।
परियोजनाले आठ लाख रूपैयाँ अनुदान दिएर पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा सुन्तला संकलन केन्द्र निर्माण गरेको छ।
परियोजनाका अनुसार बेनी, बागलुङ नगरपालिका, काठेखोला, मंगला, रघुगंगा, अन्नपूर्ण र जलजला गाउँपालिकामा सुन्तला, मुस्ताङको २२ वटा वडामा स्याउ, म्याग्दीको ६ वटै पालिकामा बंगुर, मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङग्रा जोन लागु भएको छ। यसैगरी, म्याग्दीको अन्नपूर्णको सबै वडा, रघुगंगाका वडा ५, ६, ७, ८ र बेनी नगरपालिकाको १० नम्बर वडा मुस्ताङको सबै क्षेत्रमा आलु जोन लागु भएको छ।
सुन्तला, स्याउ, आलु, च्याङग्रा र बंगुरको व्यावसायिक पालनका साथै कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागु भएका स्थानका किसानलाई चिस्यानगृह, फलफूल प्रशोधन, कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधारका लागि गत आर्थिक वर्षमा दुई करोड ९२ लाख १६ हजार रूपैयाँ अनुदान वितरण गरेको कृषि अधिकृत बस्यालले बताए। रासस