दाङ- खोटो बेचेर वन समूहले १८ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेका छन्। जिल्लाका चार समुदायिक वनले १८ लाख ३७ हजार ६ सय ५७ रूपैयाँ आम्दानी गरेका हुन्।
डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो। खोटो तार्पिन र रंग बनाउन प्रयोग गरिन्छ। यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन्।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा एक लाख ९६ हजार ७५६ किलो कम खोटो संकलन भएको छ। आव २०८०/८१ मा जिल्लाका सातवटा सामुदायिक वन समूहबाट दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो संकलन भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा ७८ हजार किलो सल्लाको खोटो संकलन गरी बिक्री गर्दा नौ लाख ३९ हजार २७ रूपैयाँ आम्दानी भएको थियो। खोटो संकलन गर्ने सामुदायिक वन समूह घटेसँगै आय पनि घटेको हो। रासस