बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यात्रा गर्न बारको छनोट, बदलिँदो परिवेशमा असहज बानी

शनिबार, फागुन १४ २०७८
यात्रा गर्न बारको छनोट, बदलिँदो परिवेशमा असहज बानी

काठमाडौं- मानिसले आफ्नो जीवनकालभर अनेक यात्रा गरेका हुन्छन्। घुमघाम, भेटघाट र कामकाजको त्यस्ता यात्रामा विचार गर्नुपर्ने विषय धेरै छन्। तर त्यसमा कतिपय मान्यतासँग जोडिएका गलत अभ्यासहरूले असहज परिस्थिति पनि बनिरहेको छ।

कतिपय यात्रा खुब रमाइलो र शानदार भइरहेका हुन्छन् भने कतिपय यात्रामा दु:ख र सास्ती पनि आइपरिरहेको हुन्छ। संयोगका केही घटनाहरूलाई बारसँग जोडेर हेरिँदा गलत अभ्यासको निरन्तरता देखिन्छ। त्यसमा खास कारणहरू बार र गते‍को अवस्थाले आउनेभन्दा फरक परिस्थितिको फरक अवस्थाहरू नै जोडिने हुन्। ती विषयहरू संयोगभन्दा बढी होइनन्। 

नयाँ काम सुरू गर्दा गते, बार र तिथि मिति हेर्ने नेपालीहरूको सामाजिक मान्यता नै हो। तिथिमिति हेरेर गरिने कार्यहरूमा केही शास्त्रीय मान्यताका ब्याख्याहरू पाइन्छन् भने कतिपय काममा भने 'चलन'को ब्याख्या र गलत मान्यताको निरन्तरता भन्दा थप केही छैन।

शुभकार्यको साइत हेराउने पौराणिक चलन नै हो। जसमा अहिलेसम्म पनि उत्तिकै मान्यता राखिन्छ। विवाह, ब्रतबन्ध, पूजाआजाका तिथिमिति अहिले पनि पुरोहितलाई देखाउने गरिन्छ। उनीहरूको स्वीकृतिपछि मात्रै यस्ता कार्यक्रमको आयोजना गरिन्छ।

रामायण, महाभारत कालखण्डमा पनि धेरैजसो कार्यहरू शुभ मुहर्तमा गरिन्थ्यो। तर पनि हजारौँ हजारले ज्यान गुमाएको, वनवास गएको, धनसम्पत्ति नाश भएको पौराणिक कथाहरूमा प्रचलित नै छ। अहिले पनि ती पुराना मान्यताको चलन उत्तिकै प्रचलित छन् तर पनि जनजीवनमा दुःखसुख आएकै छन्। बदलिँदो परिवेश र कामकाजी व्यस्ततामा यस्ता मान्यतालाई जीवनशैलीसँग जोडिनु हुँदैन। विशेषगरी यात्राका लागि बार रोज्ने परिपाटी एक त व्यवहारिक छैन भने अर्को स्पष्ट ब्याख्या देखिँदैन। 

कुनै बार कुनै दिशामा जान नहुने, कुनै बार कुनै दिशामा यात्रा गर्न नहुने भिन्न मान्यतालाई जीवनसँग जोड्ने हो भने कामकाजी मानिसहरू यात्राबाट धेरै नै बञ्चित हुनुपर्ने अवस्था आइदिन्छ। त्यसैले अहिले यात्रामा बार हेर्ने परिपाटीबाट मानिसहरू बाहिर निस्कँदै आफ्नो अनुकुलतामा यात्रा गर्न थालेका छन्। बार्ने भनिएका बारमा यात्रा गर्दा दही, चिनी खाने; खीर खाएर जाने जस्ता अभ्यासहरू पनि देखिन्छन्।

पछिल्लो समय जहाजबाट देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा जाने नेपालीको संख्या बढ्दो छ। नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले पनि यस्तै देखाउँछ। कोभिड महामारीका बाबजुद बुद्ध एयर र यतिले मात्रै गत वर्ष लाखौँ यात्रुहरूलाई उडान सेवा प्रदान गरेको छ।

जहाजबाट यात्रा गर्ने नेपालीहरूको संख्या बढे पनि एउटा खराब बानीको निरन्तरता भने अझै पूर्ण रुपमा हटेको छैन। निश्चित बार र गते, थिति मितिलाई शुभ वा अशुभ भनेर मान्नेहरूको संख्या अझै देखिन्छ। 

हवाई यात्रा गर्नेहरूमा यस्तो मिथकले बास गरेको पाइन्छ। नेपालमा आन्तरिक उडान गर्ने एयरलाइन्सहरूका अनुसार निश्चित बार गतेका लागि टिकट बुकिङ यी शनिबार र मंगलबार कम हुने गरेको छ। नेपालीहरूले शनिबार र मंगलबार कम यात्रा गर्छन्। अर्थात् यी दुई बारमा यात्रु संख्या कम हुने गरेको छ। पिक सिजन भए पनि टिकट बुकिङ यी दुई बारमा घट्ने गरेको उनीहरूको अनुभव छ। 

दुई बारमा यात्रुको संख्या अघिल्लो पछिल्लो दिनको तुलनामा केही कम हुने गरेको बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कर्णको भनाइ छ। सामान्यतया यी दुई बारमा बुकिङ कम हुनुको कारण प्रचलित रुढीवादी मान्यता हुनसक्ने उनको भनाइ छ।

बुकिङ न्यून हुनेवित्तिकै टिकट शुल्क पनि न्यून हुन्छ। धेरैले यस्तो याद नगरे पनि टिकट दरमा त्यसको असर भइरहेको हुन्छ। बारबाहेक गतेलाई पनि केही केहीले हेर्ने गरेका छन्। जस्तो महिनाको १७ गते पनि न्यून बुकिङ हुन्छ। 

शनिबार र मंगलबार यात्रा सुरू गर्न नहुने नेपाली समाजको मान्यता रहेकाले त्यसको प्रभाव भएको हुनसक्ने कतिपयको बुझाइ छ।पहिलेदेखि नै चलिआएको मान्यता भए पनि कुनै बार र गतेकै कारणले यात्रा असुरक्षित र अशुभ हुने भन्ने हुँदैन। यद्यपि यो सामाजिक बुझाइका कारणले यस्तो हुनसक्ने ज्योतिषी सुनिल सिटौला बताउँछन्। 

कुनै पनि नयाँ काम तथा लामो यात्रा सुरू गर्दा शनिबार र मंगलबार गर्न हुँदैन भन्ने सामाजिक मान्यता रहेको उनको भनाइ छ। ‘मनोविज्ञानको कुरा हो। पहिलोपटक र लामो यात्रा गर्दा मान्छेमा त्रास उत्पन्न हुनसक्छ। तर नियमित र देशभित्रै यात्रा गर्नेहरू डराउँदैनन् र डराउन पनि हुँदैन, ढुक्क भएर यात्रा गर्दा हुन्छ’ सिटौलाले भने।

ज्योतिष सिटौलाले भनेजस्तो नियमित यात्रामा निस्कनेहरूका लागि बार र गते बार्ने बानी हट्दै गइसकेको छ। अरू सामान्य यात्रामा निस्कनेहरूले पनि त्यसरी बार्ने बानी छाड्दै गइरहेका छन्। होइन भने बार्ने चलनमा ठाउँ र समाजअनुसार बढिरहेको भिन्न भिन्न गलत मान्यताहरूलाई निरन्तरता दिँदै जाने हो भने बदलिँदो सामाजिक कामकाजी परिस्थितिमा घरमा चुपचाप बस्नुको विकल्प हुँदैन!


प्रकाशित : शनिबार, फागुन १४ २०७८०५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend