शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ १२ २०८२
देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

इन्जिनियर द्रोण मानदेव कटुवालले मूल्य अभिवृद्धि कर (भ्याट)सहित १० करोड ३५ लाख रुपैयाँमा निर्माणसम्पन्न गर्नेगरी चितवनको बीबिीएस जेभीले निर्माणको काम गरिरहेको जानकारी दिए।

नवलपुर- देवचुली नगरपालिका-१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ। गत असार ३० गते निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी नेपाल सरकारसँग भएको सम्झौताअनुसार काम धमाधम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ। 

कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोण मानदेव कटुवालले मूल्य अभिवृद्धि कर (भ्याट)सहित १० करोड ३५ लाख रुपैयाँमा निर्माणसम्पन्न गर्नेगरी चितवनको बीबिीएस जेभीले निर्माणको काम गरिरहेको जानकारी दिए। 'हाल जग खन्ने काम भइरहेको छ, निर्माण कम्पनीले डन्डी झार्ने, फाउन्डेसन तयार पार्ने काम गरिरहेको छ। अबको केही दिनमा जग ढलानको काम हुन्छ', उनले भने।  

वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्दा विभिन्न प्रजातिका ६४६ वटा रूख/पोल कटान गर्नुपर्ने प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएपछि काम अगाडि बढेको कटुवालले बताए। मन्त्रिपरिषद्बाट रूख कटानको अनुमति पाएको भए पनि हाल भवन निर्माण हुने ठाउँको मात्रै रूख काटेर काम भइरहेको उनको भनाइ छ।  

ट्रमा सेन्टरका साइट इन्जिनियर अविशेककुमार चौरसियाका अनुसार झराही सामुदायिक वनको करिब तीन बिघा क्षेत्रफलमा ट्रमा सेन्टर निर्माण भइरहेको छ। यस्तै १५ शय्या क्षमताको साढे दुई तलाका भवन एक हजार वर्गमिटर क्षेत्रफल ओगट्ने गरी बनाइँदैछ। 

जसमा भुइँतल्लामा बिरामीको उपचार, पहिलो तल्लामा अस्पताल प्रशासन, बहुउद्देश्यीय सभाकक्ष तथा अस्पताल वार्ड एवम् माथिल्लो तल्लामा कर्मचारीको आवास हुनेछ। अस्पतालमा एक्स-रे कक्ष, शल्यक्रिया कक्ष (अपरेसन थिएटर), प्रयोगशालाका लागि आवश्यक पर्ने कोठाहरू निर्माण हुनेगरी नक्सा तयार भई काम अगाडि बढेको उनले बताए। 

पूर्वपश्चिम राजमार्गसँगै निर्माण हुन लागेको ट्रमा सेन्टरबाट नवलपुर र छिमेकी जिल्लामा हुने दुर्घटनाका बिरामीलाई फाइदा पुग्ने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ १२ २०८२१०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend