शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १० २०८२
रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

'दसैँ, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै छन्। अवरुद्ध तातोपानी र रसुवा नाका समयमा पुनर्निर्माण सम्पन्न नहुँदा आयात प्रत्यक्ष प्रभावित भएको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ।'

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ।

यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो।

यसले मूल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु बजारमा अभाव सृजना हुने जोखिम बढेको चेम्बरले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, 'दसैँ, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै छन्। अवरुद्ध तातोपानी र रसुवा नाका समयमा पुनर्निर्माण सम्पन्न नहुँदा आयात प्रत्यक्ष प्रभावित भएको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ।'

चीनसँग जोडिएको महत्त्वपूर्ण नाकाहरू लामो समय बन्द हुँदा वैदेशिक व्यापारमात्र नभइ साना उद्योग र व्यावसायिक प्रतिष्ठान पनि संकटमा परेको चेम्बरका भनाइ छ। 


प्रकाशित : मंगलबार, भदौ १० २०८२१७:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend