शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रोपो कुहिन थालेपछि किसान चिन्तित

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १० २०८२
रोपो कुहिन थालेपछि किसान चिन्तित

रोपो पहेँलो हुने समस्या देखिएपछि किसानले युरिया मल प्रयोग गर्दा समस्या थपिएको हो। जिल्लामा धानखेती हुने ५ हजार ७ सय ७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ४ सय ७८ हेक्टर क्षेत्रफलमा यसवर्ष रोपाइँ भएको छ।

बागलुङ- काठेखोला गाउँपालिका-१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रुपमा कुहिएको छ।

गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको थियो। थप नकुहियोस् भनेर औषधि छर्किए तर कुहिन रोकिएन, हेर्दाहेर्दै खेत रित्तै हुन लागेको उनको भनाइ छ। 

काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका अधिकांश किसान खत्रीको जस्तै रोपो कुहिने समस्याले चिन्तित छन्। किसानले कृषि ज्ञान केन्द्रमा रोपो कुहिएको र सुकेको जानकारी गराएका छन्। ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालसहितका प्राविधिकको टोलीले स्थलगत जाँच गरेको छ।
 
गवारो कीरा र खेत कुहिने रोगका कारण अधिकांश किसानको रोपो कुहिएको र सुकेको सिलवालले बताए। सिलवालका अनुसार किसानमा प्राविधिक ज्ञानको अभावले रोपो कुहिने र सुक्ने समस्या देखिएको हो।
 
जथाभावी झारनाशक विषादीको प्रयोग गरेका कारण पनि रोपोमा समस्या देखिएको उनले बताए। 'रोपो कुहिएको र सुकेको भन्दै दैनिक कृषि ज्ञान केन्द्रमा सात जनाभन्दा बढी किसान आउनुहुन्छ,' सिलवालले भने, 'खेतमै पुगेर अनुगमन गर्ने र सल्लाह सुझाव दिने गरेका छौँ।' 

गौरिया, मसिनो, गुडुरा, जेठोबुढो र हाइब्रिड धानमा बढी समस्या देखिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी बताए। निरीक्षणपश्चात समस्याअनुसार विषादी दिएर पठाउने गरेको उनले बताए। 

उनका अनुसार रोपो पहेँलो हुने समस्या देखिएपछि किसानले युरिया मल प्रयोग गर्दा समस्या थपिएको हो। जिल्लामा धानखेती हुने ५ हजार ७ सय ७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ४ सय ७८ हेक्टर क्षेत्रफलमा यसवर्ष रोपाइँ भएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १० २०८२१३:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend