शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

दुहुँ गाउँपालिकाबाट डाक्टर र इन्जिनियर पढ्नेलाई ५० प्रतिशत छात्रवृत्ति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १० २०८२
दुहुँ गाउँपालिकाबाट डाक्टर र इन्जिनियर पढ्नेलाई ५० प्रतिशत छात्रवृत्ति

‘टुहुरा बालबालिका, सहारा गाउँपालिका’ कार्यक्रममार्फत १२ छात्र र तीन छात्रालाई आवासीय अनाथालय विद्यालयमा पढाइरहेको गाउँपालिकाले जनाएको छ।

दार्चुला- दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इन्जिनियर बनाउन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। पालिकाले कुल खर्चको ५० प्रतिशत रकम छात्रवृत्ति स्वरुप विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छ।

विसं २०७९ मा नरेन्द्रबहादुर सिंह बडाल अध्यक्षमा निर्वाचित भएपछि सुरु गरिएको यो कार्यक्रम २०८० सालदेखि नियमित रूपमा सञ्चालनमा छ। हालसम्म दुहुँका आठ जनाले एमबिबीएस, बीइ सिभिल र बीइ कम्प्युटर इन्जिनियरिङमा छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन्। छात्रवृत्ति प्राप्त विद्यार्थीले अध्ययन सकिएपछि कम्तीमा एक वर्ष गाउँपालिकामै सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ। 

गाउँपालिकाबाट प्राप्त छात्रवृत्तिले छोरालाई पढाउन निकै सहज भएको अभिभावक भगवती बडालले बताइन्। छोरा भुपेन्द्रको इन्जिनियरिङ पूरा गर्न कुल आठ लाख ५० हजार लाग्नेमा गाउँपालिकाले ४ लाख २५ हजार रुपैयाँ छात्रवृत्तिस्वरुप दिने भएपछि पढाइमा सहज भएको उनको भनाइ छ।
 
शिक्षा क्षेत्रमा थप लगानी गर्दै गाउँपालिकाले कक्षा १० सम्म पूर्ण रूपमा निःशुल्क गरेको छ। दुहँ गाउँपालिकाले अनाथ बालबालिकाका लागि आवासीय अनाथालय सञ्चालन गरेर गाँस, बाँस, कपाससहित पढाइको सुविधा दिएको छ। 

‘टुहुरा बालबालिका, सहारा गाउँपालिका’ कार्यक्रममार्फत १२ छात्र र तीन छात्रालाई आवासीय अनाथालय विद्यालयमा पढाइरहेको गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १० २०८२१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend