काठमाडौं- हरितालिका तीजको दिन भक्तजनलाई सहज रूपमा दर्शन गर्न दिने उद्देश्यले पशुपतिनाथ मन्दिरका चार ढोका मंगलबार बिहान ३ बजेबाटै खुला गरिएको छ। पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य–सचिव सुभासचन्द्र जोशीका अनुसार विशेषगरी हिन्दू नारीहरूलाई लक्षित गरी दर्शनमार्गदेखि सुरक्षासम्मका तयारी गरिएको हो।
मन्दिर परिसरमा चन्दन–प्रसाद वितरण, दर्शनमार्गको व्यवस्थापन, जुत्ता–चप्पल राख्ने कक्ष, आकस्मिक स्वास्थ्य सेवा, भजन–कीर्तन, दीपावली, व्रतालुका लागि गौदान स्थललगायतका सुविधा मिलाइएको कोषले जनाएको छ। भक्तजनलाई छिट्टै दर्शन गरी फर्कन सकिने गरी चारवटा लाममार्ग तोकिएको छ। तीमध्ये गौरीघाट, मित्रपार्क, पिङ्गलास्थान र तिलगङ्गाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। मूल मन्दिरभित्र पनि आठवटा छुट्टै लाममार्ग बनाइएको छ।
दर्शनपछि भक्तजनलाई सहज बनाउन मन्दिर परिसर बाहिरका विभिन्न स्थानमा चन्दन वितरण गर्ने तयारी गरिएको छ। गौशाला, जयबागेश्वरी, तिलगङ्गा, उमाकुण्ड, दक्षिणामूर्ति, पञ्चदेवल र सदावर्तसहितका स्थानमा चन्दन लिन सकिनेछ।
तेस्रो मुलुकका पर्यटकलाई भने प्रवेश शुल्क तिरेर टिकट लिएको खण्डमा मेला क्षेत्र अवलोकन गर्न दिइने कोषकी सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन्। भक्तजनले गर्ने गौदान र अन्य धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्ग आसपास छुट्याइएको छ।
कोषले दर्शन गर्न आउने भक्तजनलाई बहुमूल्य गरगहना लगाएर वा बालबालिका लिएर नआउन आग्रह गरेको छ। साथै, मन्दिर दर्शनका लागि कुनै किसिमको पासको व्यवस्था नराखिएको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले स्पष्ट पारे। रासस