काठमाडौं- देशभर मनसुनको प्रभाव केही मत्थर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको विभागले जानकारी दिएको हो।
पछिल्लो २४ घन्टामा देशका अधिकांश स्थानमा हल्का देखि मध्यम मात्र वर्षा भएको छ। विभागका अनुसार काठमाडौंको बूढानीलकण्ठमा ४७ मिलिमिटर र लमजुङको बेसीसहरमा ५५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
मंगलबार बिहान देशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागका केही स्थान तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, मंगलबार राति पनि देशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र अन्यका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ। रासस