शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

यस वर्ष घट्यो धान रोपाइँ

सोमबार, भदौ ९ २०८२
यस वर्ष घट्यो धान रोपाइँ

कोशी प्रदेशमा गत वर्ष सतप्रतिशत रोपाइँ भएकामा यस वर्ष ९७ दशमलव २४ प्रतिशत रोपाइँ भएको छ। यसैगरी मधेस प्रदेशमा गत वर्ष ९७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष भने ८६ दशमलव ३५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ।

काठमाडौं- मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ।

गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने ९४ दशमलव ९ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार मुलुकमा धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ७६ हजार ४६६ हेक्टर रहेकामा हालसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ९३ दशमलव ३ प्रतिशत हो।

कोशी प्रदेशमा गत वर्ष सतप्रतिशत रोपाइँ भएकामा यस वर्ष ९७ दशमलव २४ प्रतिशत रोपाइँ भएको छ। यसैगरी मधेस प्रदेशमा गत वर्ष ९७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष भने ८६ दशमलव ३५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ।

बागमती प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष ९७ दशमलव २७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। गण्डकी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ९६ दशमलव ६३ प्रतिशत रोपाइँ भएको छ। लुम्बिनी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९८ दशमलव ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

कर्णाली प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९९ दशमलव ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा गत वर्ष सतप्रतितिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष पनि ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले यस वर्ष समयमा नै वर्षा हुन नसक्दा धान रोपाइँ कम भएको जानकारी दिए। 'वर्षा कम हुँदा मधेस प्रदेशमा अझ ढिलो गरी रोपाइँ सम्पन्न भयो। वर्षा पर्याप्त नहुँदा रोपिसकेको धानलाई सिँचाइ सुविधा पुगेको छैन। यसले यस वर्ष धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ,' उनले भने। मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो।

अघिल्लो वर्ष (विसं २०८०) को तुलनामा गत वर्ष (विसं २०८१) मा ४ दशमलव ०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो। विसं २०८१ मा कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन, मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमती प्रदेशमा चार लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकी प्रदेशमा तीन लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा एक लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको थियो।

अघिल्लो वर्ष (विसं २०८०) को तुलनामा गत वर्ष (विसं २०८१) मा उत्पादन वृद्धिदर कोशी प्रदेशमा २ दशमलव १६ प्रतिशत, मधेस प्रदेशमा १० दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४ दशमलव ०६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६ दशमलव १९ प्रतिशत रहेको थियो। तर बागमती प्रदेशमा १ दशमलव १३ प्रतिशत, गण्डकी प्रदेशमा ३ दशमलव २२ प्रतिशत र कर्णाली प्रदेशमा १० दशमलव ३ प्रतिशतले उत्पादनमा ह्रास आएको तथ्यांक छ। रासस


प्रकाशित : सोमबार, भदौ ९ २०८२१८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend