शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

१४ करोड ८६ लाख रूपैयाँ लागतमा गौरा-बलानपट्टि सडक निर्माण गरिँदै

सोमबार, भदौ ९ २०८२
१४ करोड ८६ लाख रूपैयाँ लागतमा  गौरा-बलानपट्टि सडक निर्माण गरिँदै

आज यहाँ आयोजित एक कार्यक्रमबीच मधेस प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहले उक्त सडकको शिलान्यास गरे।

सप्तरी- यहाँको बोदेबरसाईन नगरपालिका-३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि जोड्ने सडक निर्माण हुने भएको छ। आज यहाँ आयोजित एक कार्यक्रमबीच मधेस प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहले उक्त सडकको शिलान्यास गरे।

सिंहले जनताको सहयोगका कारण आफू निर्वाचित भएकाले जनताको हित र अधिकार तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। उनले बजेट विनियोजनका लागि पटकपटक पहल गरिएको भन्दै सडक निर्माणपछि यहाँका हजारौँ स्थानीय लाभान्वित हुने धारणा राखे।

कार्यक्रममा बोदेबरसाईन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साह, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, बोदेबरसाईन-१ का वडाध्यक्ष रवीन्द्रकुमार साह, वडा नम्बर ३ का वडाध्यक्ष शिवनारायण यादव, पूर्वाधार विकास कार्यालय राजविराजका लेखापाल वीरेन्द्रकुमार साह, इञ्जिनियर दिनेश ठाकुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायत दर्जनौँ स्थानीयवासी तथा नेताकार्यकर्ताको उपस्थित थियो।

पूर्वाधार विकास कार्यालय राजविराजको आर्थिक सहयोगमा करिब १४ करोड ८६ लाख २० हजार ८४५ रूपैयाँ लागतमा निर्माण हुने उक्त सडकको ठेक्का यम/यस सारस सगरमाथा जेभी त्रियुगा-११ उदयपुरले पाएको छ।

गत असार २५ गतेदेखि सुरु भइ विसं २०८४ असार १९ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्थानीयले सडक निर्माण समयमै सम्पन्न भएमा आवागमन सहज हुने अपेक्षा गरेका छन्। रासस


प्रकाशित : सोमबार, भदौ ९ २०८२१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend