धनुषा- मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयले प्रदेशस्थित सुरक्षा निकायका कार्यालयहरूलाई सवारीसाधन उपलब्ध गराएको छ।
आज जनकपुरधाममा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले देश र जनताको शान्तिसुरक्षा र सुव्यवस्थामा अहोरात्र खटिने सुरक्षा निकायले स्रोत र साधनको अभाव झेल्न नहुने बताए।
मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश र विभिन्न जिल्लास्थित रहेका कार्यालयहरूलाई चारपांग्रे र दुईपांग्रे गरी २६ थान सवारीसाधन उपलब्ध गराएको हो। गृह मन्त्रालयका प्रदेश सचिव विमलप्रसाद बरालका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई एक थान पिकअप गाडी र २१ मोटरसाइकल हस्तान्तरण गरिएको छ।
त्यस्तै, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरी र रौतहटलाई एक-एक थान पिकअप गाडी वितरण गरेको छ भने राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरी र धनुषालाई एक-एक थान इलेक्ट्रिकल ईभी गाडी वितरण गरेको छ।
गृहमन्त्री लेखीका अनुसार प्रदेशका आठवटै जिल्लास्थित रहेका जिल्ला प्रहरी कार्यालय र ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालयहरूलाई केही दिनभित्रै एक-एक थान चारपांग्रे सवारीसाधन वितरण गरिने छ। रासस