म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू उत्साहित भएका छन्।
गाईभैँसी र बाख्रापालकलाई दिँदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि सागसब्जी खेती गर्ने किसानलाई पनि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ।
मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख सुरत केसीले बताए। 'किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ', उनले भने, 'बजेट बढाएर साना किसानलाई पनि समेट्ने गरी कार्यविधि बनाएका छौँ।'
चालु आव २०८२/८३ मा उत्पादनमा आधारित अनुदानका लागि दूधमा १५ लाख, साजसब्जीमा १० लाख र मासुमा सात लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले आवेदन संकलन गरेर लाभग्राही छनोटको प्रक्रिया अघि बढाएको छ।
आव २०८१/८२ मा १८ जना गाईभैँसीपालक कृषकले १० हजारदेखि ४५ हजार रूपैयाँसम्म गरी कुल पाँच लाख ५० हजार रूपैयाँ र २८ जना बाख्रापालकले सात लाख ५० हजार रूपैयाँ अनुदान पाएका नगरपालिकाका पशु चिकित्सक आशिष सापकोटाले बताए।
आव २०८०/८१ मा ३२ जना बाख्रापालक कृषकले ६ लाख ४४ हजार ९८० रूपैयाँ र १८ जना दुग्ध उत्पादक कृषकले पाँच लाख रूपैयाँ अनुदान पाएका थिए। बेनी नगरपालिका-७ कुरिलाखर्कका भैँसीपालक कृषक सुरेश ढुंगानाले उत्पादनमा आधारित अनुदानले किसानलाई प्रोत्साहन मिलेको, उत्साहित बनाएको र व्यावहारिक भएको बताए।
बेनी नगरपालिकाले उत्पादनका आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएको छ। कार्यविधिअनुसार कम्तीमा आठ वटा माउबाख्रा र तीन वटा दूध दिने गाईभैँसी पालेका किसानले अनुदान पाउँछन्। किसानले पालेका पशुको सङ्ख्याको आधारमा वर्गीकरण गरेर अनुदान पाउने व्यवस्था मिलाइएको छ।
पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए। कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिका-४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ। वडा नम्बर-८ कालीपुलमा कृषि बजार सञ्चालन गर्न भवन निर्माणाधीन छ। रासस