शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा

सोमबार, भदौ ९ २०८२
पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा

कालिखोलादेखि काँहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरू गरिएको थियो। यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

कास्की- पोखरा महानगरपालिका-११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ।

पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ। उक्त ट्रेलमा करिव चार हजार ५ हजार सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ। 

कालिखोलादेखि काँहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरू गरिएको थियो। यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए। उनका अनुसार फुट ट्रय्याकका लागि चालु आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

'पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास गरेका छौँ। स्थानीय विशेषता झल्कने र पहिचानसहितको अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनको स्वाद लिन सकिनेछ' नगर प्रमुख आचार्यले भने।

निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुंगा काटेर विच्छ्याइएको छ। पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्युपोइन्ट’ निर्माण हुनेछ। पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए।

पोखराको प्राकृतिक ‘भ्युपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ। ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिव ४०० फलफूलका बिरुवासमेत रोपिएको छ। 

पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा ’अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरुवखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रापिएका हुन्। रासस


प्रकाशित : सोमबार, भदौ ९ २०८२१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend