काठमाडौं- गत आर्थिक वर्षमा मुलुकले सञ्चार तथा प्रविधिको क्षेत्रबाट ७८ अर्ब रुपैयाँ आम्दानी गरेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवाबाट २२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ। यसमा दूरसञ्चार कम्पनीको सेवाबाट ५ अर्ब ८४ करोडमात्र आयात भएको छ भने कम्प्युटर सेवाबाट १६ अर्ब रुपैयाँ आम्दानी भएको छ।
त्यस्तै व्यावसायिक व्यवस्थापन परामर्श सेवाको निर्यातबाट मुलुकले सबैभन्दा धेरै आम्दानी गरेको छ। विभिन्न प्रकारका सेवाबाट मुलुकमा ५७ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको छ। जसमा व्यावसायिक तथा व्यवस्थापन परामर्श सेवाबाट ३७ अर्ब, प्राविधिक सेवाबाट २० अर्ब तथा अन्य सेवाबाट पनि आम्दानी भएको छ। यो शीर्षकलाई पछिल्लो समय व्यक्तिगत प्रयासबाट हुने आयातको रकम पनि जोडिन्छ।
सूचना प्रविधिमा आधारित रहेर सो सेवासँग सम्बन्धित काम गरेर हुने आम्दानी यही शीर्षकमा आउँछ।
मुलुकको सेवा खातामा नयाँ क्षेत्रको रुपमा आम्दानी हुँदै गएपनि समग्रमा सेवा खाताको घाटा भने विस्तार भएको छ। अघिल्लो वर्ष ५५ अर्बले घाटामा रहेको सेवा खाता गएको वर्ष ९० अर्ब ९४ करोडले घाटामा छ।
सेवामा निर्यातबाट हुने आम्दानीको तुलनामा आयातमा धेरै खर्च हुँदा यस्तो खाता घाटामा हुन्छ। सेवा खातामा भ्रमण व्ययमा धेरै खर्च हुँदा असर घाटामा परेको हो।
भ्रमण व्ययमा सबैभन्दा धेरै खर्च शिक्षामा गएको छ। गत वर्ष १ खर्ब ३८ अर्ब रुपैयाँ अध्ययनका लागि विद्यार्थीले लगेका छन्। कुल भ्रमण व्यय भने २ खर्ब २३ अर्ब रहेको छ।
यस्तै पर्यटनबाट हुने आम्दानी भने ८८ अर्ब पुगेको छ।