काठमाडौं- आर्थिक वर्ष २०८१/८२ मा नेपालमा महँगी घट्दै वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ४.०६ प्रतिशतमा झरेको छ।
अघिल्लो वर्ष यो ५.४४ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार असार महिनामा मूल्यवृद्धि २.२० प्रतिशत मात्र देखिएको छ। जुन गत वर्षको सोही महिनाको भन्दा ३.५७ प्रतिशत कम हो।
तरकारीको मूल्य १०.७१ प्रतिशत, घ्यू तथा तेल ८.७२ प्रतिशत, दाल तथा गेडागुडी ७.९० प्रतिशत र समग्र खाद्य तथा खाद्यजन्य पदार्थ ६.१३ प्रतिशतले बढेको छ। तर मरमसला २.६२ प्रतिशत र माछामासु ०.३४ प्रतिशतले घटेको छ।
खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मूल्यवृद्धि ४.६९ प्रतिशत मात्र रह्यो, जुन अघिल्लो वर्ष ६.४७ प्रतिशत थियो। असार महिनामा मूल्यवृद्धि ऋणात्मक १.१९ प्रतिशतमा झरेको छ।
विविध वस्तु तथा सेवा ९.३९ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ६.०९ प्रतिशत, मदिराजन्य पेय ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थ ४.३७ प्रतिशतले महँगिएका छन्। यस समूहको वार्षिक औसत मूल्यवृद्धि ३.७१ प्रतिशतमा सीमित रर्यो।
काठमाडौं उपत्यका ३.७७ प्रतिशत, तराई ४.१४ प्रतिशत, पहाड ३.८६ प्रतिशत र हिमाल ४.८९ प्रतिशत मूल्यवृद्धि देखियो। असारमा विन्दुगत हिसाबले उपत्यका २.३२ प्रतिशत, तराई १.८५ प्रतिशत, पहाड २.१९ प्रतिशत र हिमाल ३.७५ प्रतिशत मा सीमित भयो।
ग्रामीण क्षेत्रको वार्षिक औसत मूल्यवृद्धि ४.४० प्रतिशत र सहरी क्षेत्र ३.९४ प्रतिशत रहेको छ। असार महिनामा ग्रामीण क्षेत्रमा २.४० प्रतिशत र सहरी क्षेत्रमा २.१४ प्रतिशत मूल्यवृद्धि देखियो।