शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक-सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

आइतबार, भदौ ८ २०८२
नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक-सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधिलगायत विषयमा र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उनीहरुबीच कुराकानी भएको थियो।

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ।

आज यहाँ भएको भेटमा उनीहरुबीच दुवै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक र सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो। उनीहरुबीच मित्रवत्, न्यानो र सौहार्द रुपमा सम्पन्न भेटवार्ता भएको जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारी द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय विषयका बारेमा विचार आदानप्रदान भएको बताए।

दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तरराष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा उहाँहरुबीच कुराकानी भएको थियो। दुवै उपराष्ट्रपतिबीच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएकोसमेत भएको छ।

सो अवसरमा दुवै मुलुकबीच हवाई सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको सहसचिव अधिकारीले बताए। भियतनाम उच्च आर्थिक वृद्धिदर भएको मुलुक भएकाले नेपालले त्यहाँबाट सिक्न सक्ने र लगानीको सम्भावनाका विषयमा उनीहरुबीच छलफल भएको सहसचिव अधिकारीले जानकारी दिए।

द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधिलगायत विषयमा र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उनीहरुबीच कुराकानी भएको थियो।

भियतनामका तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो। यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। उपराष्ट्रपति भो थि आन सुआन उपराष्ट्रपति यादवको मैत्रिपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुगेका हुन्। उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ। रासस


प्रकाशित : आइतबार, भदौ ८ २०८२१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend