शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सडक यात्रा सहज बनाउन बन्दैछन् सुरुङमार्ग, कहाँ के भइरहेका छन्?

शुक्रबार, फागुन १३ २०७८
सडक यात्रा सहज बनाउन बन्दैछन् सुरुङमार्ग, कहाँ के भइरहेका छन्?

काठमाडौं- नेपालमा सडक सुरुङ मार्गको इतिहास छैन। तर विगतमा जलविद्युत आयोजनामा सुरुङ बने पनि सवारीसाधन सञ्चालनका लागि बन्दै गरेको नागढुंगा सुरुङ नै पहिलो हो। 

त्यस्तै सरकारले सिद्धबाबामा सुरुङमार्ग निमार्णका लागि कम्पनी छनौट गरिसकेको छ भने बबई-छिन्चु सुरुङमार्गको विस्तृत सम्भायता अध्ययनका लागि ६ कम्पनी सर्ट लिष्ट गरेको छ। सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले सुरुङमार्ग निर्माणका लागि काम गर्दै आएको छ। 

बबई-छिन्चु सुरुङमार्ग सम्भायता अध्ययनका लागि ६ कम्पनी छनोट

सरकारले देशभर सुरुङ मार्ग निर्माणका लागि तिब्र रुपमा काम अगाडि बढाएको छ। पछिल्लो पटम सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले बबई-छिन्चु सडक सुरुङ मार्ग निर्माणका लागि आवश्यक विस्तृत सम्भायता अध्ययन गर्न ६ वटा कम्पनीलाई सर्ट लिष्ट गरेको छ। 

केन्द्रलेले सुर्खेतमा पर्ने सडक खण्डमा पर्ने सुरुङ मार्गको विस्तृत सम्भायता अध्ययनका लागि गरेको टेन्डरबाट ६ वटा कम्पनीलाई सर्ट लिष्ट गरेको छ। 

केन्द्रले इएमआर सी-एसएलएटी जेभी पाकिस्तान, जेईसी-युनिट्स-इपीसेन्टर जेभी, एचसीई-सखुवा-ग्रान्ड जेभी, आइटीइसीओ-टीएमएस-आरएवाईएस जेभी, सिल्ट-बीडीए-क्वोस्ट जेभी र सितारा-ईएमआई-इन्जिनियरिङ घर लाई सर्ट लिस्ट गरेको हो। केन्द्रले सर्ट लिष्ट गरेको कम्पनीसँग आश्य पत्र समेत मागेको छ।

नागढुंगा सुरुङमार्ग 

काठमाडौंको दहचोक–धादिङको सिस्ने खोलासम्म सुरुङको लम्बाई २.६८८ किलोमिटर हुनेछ। यो सुरुङमार्ग निर्माणका लागि २०७६ असोजमा सडक विभागका र जापानको हाज्मा-आन्दो जेभीबीच सम्झौता भएको हो। ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको यो आयोजनाका लागि जापान सरकारले १९ अर्ब रुपैयाँ ऋण सहयोग गरेको थियो। 

पछिल्लो अपडेट अनुसार नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति करिब ३० प्रतिशत पुगेको छ। २०७७ पुसदेखि सुरुङमार्ग निर्माणको काम सुरु भएको थियो। काठमाडौं र धादिङ दुबैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ। कोरोना महामारीका कारण सुरुङमार्गको काम केही समय प्रभावित भएको थियो। 

कोरोनाका कारण केही समय काम प्रभावित भएपनि आयोजनाले तोकिएकै समयमा काम सम्पन्न गर्नेगरि योजना बनाइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। ‘कोरोनाले हाम्रो काममा केही समय प्रभाव पार्‍यो। तर हामी तोकिएकै अवधिमा काम सक्ने गरि लागि परेका छौं,’ शाक्यले भने। 

त्यसैगरि देशका अन्य राजमार्ग तथा सडक खण्डमा सुरुङमार्ग निर्माणको काम अघि बढेको छ भने कतै सम्भाव्यता अध्ययन भइरहेको छ। 

सिद्धबाबा सुरुङ निर्माण गर्न कम्पनी छनोट

विभाग अन्तर्गतकै केन्द्रले २ साता अगाडि मौ सिद्धबाबा सुरुङ निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनलाई दिने निर्णय गरेको छ। चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ सुरुङ मार्ग निर्माणको जिम्मा पाएको हो। 

प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिस्पर्धा सबैभन्दा कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का पाएको हो। सडक विभागका अनुसार प्राविधिक रुपमा छानिएका चारवटै कम्पनी चिनियाँ थिए। 

सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेन्डर आह्वान भएको थियो। 

सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो। यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्छ। 

केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले २०७७ मंसिर १ गते सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चितता गरेको थियो। सडक विभागले गत जेठ ९ गते ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेन्डर आह्वान गरेको थियो।

सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ। हरेक वर्षायाममा मात्र नभइ हिउँदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ।

ठेक्का पाएको कम्पनीले निर्माण सम्मपन्न्न भएको ५ वर्षसम्म सञ्चालन तथा मर्मत समेत गर्नुपर्ने छ। सुरुङ मार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षिय ठेक्का मापदण्ड २०७६ बमोजिमको प्रक्रिया पुरा गरि कार्य गर्न अर्थले स्वीकृति दिएको थियो।  

त्यस्तै चालु आर्थक वर्षमा ३ वटा सुरुङमार्गको निर्माण सुरु गर्ने घोषणा गरेको थियो। सिद्धबाबासहित लामाबगर-लाप्चे, धरान-लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेको थियो। बजेटमा दोलखाको लामावगर-लाप्चे र धरानधनकुटा सडक खण्डको धरान-लेउती सुरुङ मार्ग निर्माण सुरु गर्न भनिएको थियो। 

यसैगरि टोखा-छहरे-गुर्जेभज्याङ, वेत्रावती-स्याफ्रुबेशी, खुर्काेट-चियावारी र थानकोट-चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य थालिने उल्लेख छ। 

पृथ्वी राजमार्गको मझिमटार-शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गको हेम्जा-नयाँपुल, चेपाङ राजमार्गको दुम्लि-वाङसिङ, पूर्ब-पश्चिम राजमार्गको दुम्कीवास-वर्दघाट, पाल्पा-तम्घास सडकको प्रभास-जोर्ते र विपिनगर-खुटिया-दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा डीपीआर तयार गर्ने आगामी आवको बजेटमा उल्लेख थियो। 

नेपालमा सुरुङसम्बन्धी कुनै मापदण्ड नभएको अवस्थामा नागढुंगा आयोजनाले अन्य सुरुङ अघि बढाउन उच्च प्रविधिको प्रयोग, आर्थिक विश्लेषण आकलन गर्ने योग्यता तथा क्षमता बढाउने सडक विभागको भनाइ छ। सुरुङमार्ग बारे सामाजिक र वातावरणीय पक्षमा पनि सिक्ने मौका मिलेको छ। 


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend