काठमाडौं- कामको खोजीमा दैनिक सयौँ युवाहरु विदेशिने परिस्थितिमा २४ वर्षीया युवा व्यवसायी आकृति कुँवरले भने विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्दै नयाँ उद्यम सुरू गरेकी छन्।
स्वीजरल्याण्डको विश्वविद्यालयबाट उद्यमशीलता तथा होटल व्यवस्थापनमा स्नातक र बेलायतको लण्डनबाट रियल स्टेट, फाइनान्स तथा होटल–पर्यटन विकासमा स्नातकोत्तर गरेकी कुँवरले राजधानीको नयाँबसपार्कस्थित लोत्से मलमा करिब १२ करोड रुपैयाँको लगानीमा “एस बैँकेट” सञ्चालनमा ल्याएकी हुन्।
शुक्रबार साँझ जेष्ठ नागरिक शम्भुमानसिंह कुँवर र सञ्चालक आकृति कुँवरले संयुक्त रुपमा बैँकेटको शुभारम्भ गरेका थिए।
कुँवरले २३ हजार स्क्वायर फिट क्षेत्रमा तीनवटा बैँकेट हल सञ्चालनमा ल्याएकी छन्। सगरमाथा, माछापुच्छ्रे र धौलागिरी नाम दिइएका ती हलहरुमा ५०० देखि ७०० जना सहभागी अट्ने क्षमता रहेको बताइएको छ। यसमार्फत ५० भन्दा बढी युवाले रोजगारी पाएका छन्। 'स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले विदेशमा प्राप्त ज्ञान र सीपलाई नेपालमै प्रयोग गर्दै यो उद्यम सुरू गरेकी हुँ,' सञ्चालक कुँवरले भनिन्।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले पछिल्लो समय राष्ट्रिय बसपार्क व्यवस्थित हुँदै गएको र यस प्रकारका लगानीले त्यसलाई थप आकर्षक बनाउने बताए।
लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दिपक कुँवरले 'नेपालमा केही गर्न सकिँदैन भन्ने धारणा तोडेर आकृति कुँवरले पार्टी प्यालेस सञ्चालनमार्फत रोजगारी सिर्जना गरेकी छन्' भन्दै सराहना गरे।
शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, सांसद रमेशकुमार महत, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिती थियो।