काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखमा भेटिएको प्राकृतिक ग्यासको भण्डारको उत्पादकत्व निर्धारण गर्न चीन सरकारको सहयोगका लागि ‘जीटुजी’ मार्फत अनुरोध गरिएको बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उनले भण्डारको उत्पादकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्म आवश्यक पर्ने भएकाले सो कार्य पनि चीन सरकारकै सहयोगमा सम्पन्न गर्न सो अनुरोध पठाइएको जानकारी दिए।
विसं २०८१ माघमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको भैरवी गाउँपालिका-१, जलजलेमा चार हजार १३ मिटर ड्रिलिङ सम्पन्न गरिएको थियो। सो कार्यमा संलग्न चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा करिब एकसय १२ दशमलव एक अर्ब घनमिटर प्राकृतिक ग्यास (मिथेन) रहेको अनुमान गरिएको छ।
त्यसैगरी, खानी तथा भूगर्भ विभागको तथ्यांकअनुसार जाजरकोट, दैलेख र अछामसहितका विभिन्न स्थानमा काइनाइट र तुर्मालिनलगायतका महत्त्वपूर्ण पत्थरी धातुहरू रहेको प्रष्ट भएको छ। ती धातुहरूको औद्योगिकीकरण तथा व्यापारीकरणका लागि सरकार प्रयत्नशील रहेको मन्त्री भण्डारीको भनाइ छ।
आर्थिक वर्ष २०८१/८२ मा सुर्खेतको वीरेन्द्रनगरस्थित भूकम्प मापन केन्द्र परिसरमा जेमोलोजी तथा मिनरलोजी ल्याब स्थापना गरी काट्ने र चम्काउने उपकरण जडान गरिएको छ। उनले भविष्यमा यसलाई विस्तार गर्दै व्यवसायीलाई सीप हस्तान्तरण गरी मूल्य अभिवृद्धि गरेर निकासी गर्ने प्रबन्ध मिलाउन सरकार क्रियाशील रहेको बताए।
यसैगरी नेपाल सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर पूर्वी र पश्चिमी नेपालमा पत्थरी धातु संकलन केन्द्र स्थापना गर्ने बाह्य निकासी हुने दररेटमै संकलन गर्न व्यवसायीलाई उत्प्रेरित गर्नुका साथै अन्तर्राष्ट्रियस्तरको जेम प्रशोधन केन्द्र स्थापनाका लागि पहल गर्ने योजना रहेको बताए। रासस