काठमाडौं- आकर्षक तलबमा रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै २१ लाख रूपैयाँभन्दा बढी रकम ठगी गर्ने चारजना पक्राउ परेका छन्।
टोखा बस्ने प्युठानका ३९ वर्षीय शान्तबहादुर विक, काठमाडौं बस्ने काभ्रेका २६ वर्षीय प्रल्हाद खत्री, काभ्रे बस्ने सिराहाका ४४ वर्षीय महमद हातीम र बूढानीलकण्ठ बस्ने खोटाङका ४६ वर्षीय तारा बस्नेत तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउमध्ये शान्तबहादुरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेका थिए।
यस्तै, प्रल्हादले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख, महमदले कतार पठाइदिने भन्दै १ जनाबाट ३ लाख र ताराले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जनाबाट ५ लाख १७ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।