काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामै वैदेशिक व्यापारमा १८ प्रतिशतको वृद्धिबाट सुरुवात भएको छ। भन्सार विभागका अनुसार यो वर्षको पहिलो महिनामा आयात निर्यातमा वृद्धि देखिएको छ।
गत आर्थिक वर्षकै निरन्तरतामा वैदेशिक व्यापारमा वृद्धि देखिएको हो। साउनमा गत वर्षको साउनको तुलनामा आयात ११ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै निर्यात पनि ९५ प्रतिशतले बढेर २३ अर्ब रूपैयाँ पुगेको छ।
वस्तु व्यापार घाटा पनि २ प्रतिशतले बढेर १ खर्ब १९ अर्ब कायम भएको छ।
सरकारी राजस्व संकलनको मुख्य माध्यम भनेकै भन्सार र आयात हो। आयात बढ्दा राजस्व संकलन नबढ्ने नबढ्दा घट्ने अवस्था रहेको छ। यस्तोमा अघिल्ला दुई आर्थिक वर्ष आयातमा शिथिलता देखिँदा सार्वजनिक वित्त दबाबमा गएको छ। पछिल्लो समय बढिरहेको आयातले भने उक्त दबाबलाई न्यूनीकरण गर्ने आशमा अधिकारीहरू रहेका छन्।