काठमाडौं- ५४ मेगावाट क्षमताको तल्लो अप्सुवा जलविद्युत परियोजनाको ८ अर्ब ८४ करोड रूपैयाँबराबरको लगानी स्वीकृत भएको छ। बोर्डको ६५औँ बैठकले उक्त परियोजनाको लगानी स्वीकृत गरेको हो।
यस्तै, बैठकले ८ सय मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी एवम् वित्तीय ढाँचालगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेस गर्न एक वार्ता समिति गठन गर्ने निर्णय पनि गरेको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरिएको बोर्डका सहसचिव एवं प्रवक्ता प्रद्युम्न उपाध्यायले जानकारी दिए।
त्यसैगरी, बैठकले लगानी बोर्डको कार्यालयमा आह्वान नगरिएको प्रस्तावका रुपमा प्राप्त पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालनसम्बन्धी परियोजना तथा काठमाडौं-हेटौँडा-वीरगञ्ज पोडवे परियोजनाको सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गर्न र सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ।
यस्तै, बैठकले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विद्युत प्रसारणलाइनको नयाँ रुट अलाइनमेन्टको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्द्धक कम्पनी केटीसीपीएललाई सहमति प्रदान गर्ने निर्णय गरेको छ।