शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : ऊर्जामन्त्री खड्का

शुक्रबार, भदौ ६ २०८२
दक्ष जनशक्तिबिना विकास सम्भव छैन : ऊर्जामन्त्री खड्का

कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले उनले प्राविधिक सीप र व्यावहारिक ज्ञानबिना श्रम बजारमा प्रतिस्पर्धा सम्भव नभएको बताए।

सङ्खुवासभा- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताएका छन्।

सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित ‘२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम’को समापन कार्यक्रममा मन्त्री खड्काले परम्परागत शिक्षाले मात्र नपुग्ने उल्लेख गर्दै उनले प्राविधिक सीप र व्यावहारिक ज्ञानबिना श्रम बजारमा प्रतिस्पर्धा सम्भव नभएको बताए।

सङ्खुवासभाको भौगोलिक र पर्यटनको सम्भावनाबारे उल्लेख गर्दै मन्त्री खड्काले त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाले अर्बौँ रूपैयाँ राजस्व दिन सक्ने पर्यटन सम्भावना बोकेको बताए। उनले यसलाई सही ढंगले उपयोग गर्नुपर्नेमा जोड दिए। निकट भविष्यमै सङ्खुवासभामा सीटीईभीटी कार्यालय र आयुर्वेद अस्पताल स्थापना हुन लागेको उनले जानकारी दिए।

कार्यक्रममा सीटीईभीटीका सदस्यसचिव महेश भट्टराईले ऊर्जा मन्त्रालयको पहलमा तालिम सञ्चालन गर्न पाएकामा खुसी व्यक्त गर्दै तालिम लिएका युवालाई जलविद्युत् आयोजनामा इन्टर्नसीपको अवसर दिलाइदिन आग्रह गरे।

त्यसैगरी, खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले आत्मनिर्भर जिल्ला बनाउन नियमितरूपमा यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताए। तालिममा सहभागी युवाले प्राप्त ज्ञानले आफूहरूलाई रोजगारी र उद्यमशीलतामा अघि बढ्न प्रेरणा मिलेको अनुभव सुनाए।

उक्त तालिम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोगमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले सञ्चालन गरेको हो। रासस


प्रकाशित : शुक्रबार, भदौ ६ २०८२१४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend