तनहुँ- आर्थिक वर्ष २०८१/८२ मा तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३७ लाख ९२८ मेट्रिकटन दूध उत्पादन भएकामा गत आवमा ३८ लाख ६७० मेट्रिकटन दूध उत्पादन भएको हो।
उत्पादनका आधारमा प्रतिलिटर तीन रूपैयाँका दरले किसानलाई अनुदान दिन थालेपछि व्यवसाय गर्ने किसानको सङ्ख्या बढ्नुका साथै र दूध उत्पादन पनि बढ्न थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका कार्यालय प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रबिनसन अधिकारीले जानकारी दिए।
उनले भने, 'अघिल्लो वर्ष दुधालु गाईको सङ्ख्या १३ हजार ६१० रहेकामा गत वर्ष १३ हजार ६३८ तथा भैँसीको सङ्ख्या २० हजार ६५० रहेकामा वृद्वि भई २१ हजार २४२ पुगेको छ।'
जिल्लाका ११ सहकारी संस्थामार्फत ३२ लाख ४७ हजार १७८ मेट्रिकटन दूध बिक्री गरिएको छ। उनले भने, 'प्रतिलिटर तीनका दरले अनुदान दिँदा ९७ लाख ४१ हजार ५३४ रूपैयाँ खर्च भएको छ।'
तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर भइ बाह्य जिल्लामा समेत बिक्रीवितरण गर्न थालिएको वरिष्ठ मत्स्य विकास अधिकृत अधिकारीले बताए।
कुल परिवार सङ्ख्या ८८ हजार ५८३ रहेकामा कृषि पेसामा आबद्ध परिवार ५८ हजार ५९५ र पशुपक्षीपालनमा आबद्ध ४९ हजार ६४० परिवार रहेका छन्। जिल्लामा ५६ प्रतिशत घरधुरी पशुपालनमा लागेको तथ्यांक छ।
त्यसैगरी, पाँच हजार ३७ गाई, चार हजार ४१७ भैँसी, ७६ बाख्रा र २२ बंगुरमा कृत्रिम गर्भाधान गरिएको उनले बताए। रासस