म्याग्दी- मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम र म्याग्दीको तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ।
रघुगंगा गाउँपालिका-२ माझखर्क, अन्नपूर्ण गाउँपालिका-३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरोले मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी-दरबाङ सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल दर्जीले बताए।
सडक अवरुद्ध हुँदा सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ भने यहाँको जनजीवन प्रभावित भएको छ। सडक विभागको डोजर प्रयोग गरेर बेनी-जोमसोम र पूर्वाधार विकास कार्यालयमार्फत बेनी-दरबाङ सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। रासस