शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

अरनिको राजमार्ग सञ्चालनमा, प्राविधिक र उपकरण परिचालन जारी

बिहीबार , भदौ ५ २०८२
अरनिको राजमार्ग सञ्चालनमा, प्राविधिक र उपकरण परिचालन जारी

सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययनसमेत जारी राखेको सडक विभागले जनाएको छ।

काठमाडौं- पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ।

नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तर्राष्ट्रिय नाका तातोपानी नाका कोदारीनजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो। पहिरोको माथिल्लो भागमा स्थानीयवासीको बस्ती रहेको र उक्त पहिरोको कारण बस्तीसमेत जोखिममा रहेको हुँदा कठिनाइ भएको थियो।

सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरणसहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो। सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको कामसमेत भइरहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए।

पहाडी धरातल र लेदो बगिरहने गरेका कारण सो स्थानमा समय-समयमा समस्या आउने गरेको छ। ग्याविन पर्खाललगायतका अन्य संरचनाहरुको निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशील रहेको महानिर्देशक जैसीले जानकारी दिए।

सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययनसमेत जारी राखेको सडक विभागले जनाएको छ।

araniko rajmarga.jpg

पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारीसाधन सञ्चालन गरिएको र बिहीबार अपराह्नदेखि ठूला सवारीसाधनहरु समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानले जानकारी दिए। यातायात सहजरुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनले जानकारी दिए।

केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त राजमार्गमा गइरहने पहिरो नियन्त्रणका लागि दिगो विकल्प खोज्न सडक विभागलाई निर्देशन दिएका थिए। दीर्घकालीन समाधानका लागि केही समय लाग्ने भए पनि चाडपर्वहरु नजिकिँदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरी प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन थियो।


प्रकाशित : बिहीबार , भदौ ५ २०८२१६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend