शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

घरजग्गा कारोबारमा उच्च गिरावट, मौद्रिक नीतिले समेत पार्न सकेन प्रभाव

बिहीबार , भदौ ५ २०८२
घरजग्गा कारोबारमा उच्च गिरावट, मौद्रिक नीतिले समेत पार्न सकेन प्रभाव

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यस वर्ष साउनमा जम्मा ३१ हजार ६ सय २१ लिखत मात्र पास भएका छन्। गत वर्षको साउनमा यो संख्या ४३ हजार ८ सय ३५ थियो।

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामै घरजग्गा कारोबारमा ठूलो गिरावट देखिएको छ। गत वर्षको साउनमा भन्दा यस वर्षको साउनमा १२ हजार २ सय १४ वटा लिखत पास कम भएका छन्। जुन गत वर्षको तुलनामा २७.८६ प्रतिशतले कम हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यस वर्ष साउनमा जम्मा ३१ हजार ६ सय २१ लिखतमात्र पास भएका छन्। गत वर्षको साउनमा यो संख्या ४३ हजार ८ सय ३५ थियो।

यससँगै राजस्व संकलनमा समेत ठूलो कमी आएको छ। चालु वर्षको साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रूपैयाँमात्र राजस्व संकलन भएको छ। गत वर्षको सोही महिनामा ३ अर्ब ८३ करोड ५० लाख रूपैयाँ राजस्व संकलन भएको थियो। साउनको राजस्व १४ प्रतिशतले घटेको छ।

झनै ठूलो गिरावट भने गत असार महिनासँग तुलना गर्दा देखिएको छ। जसमा ६ अर्ब ५५ करोड १७ लाख रूपैयाँ राजस्व उठेको थियो। असारबाट साउनसम्म राजस्व ५० प्रतिशतले घटेको छ। यस्तै गतवर्ष असार ५५ हजार ५ सय २४ वटा लिखत पास भएको थियो। तर साउनमा ४३ प्रतिशतले घट्न पुग्यो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिले घरजग्गा बजारलाई सहज बनाउने अपेक्षा गरिएको थियो। नीतिअनुसार, पहिलोपटक घर खरिद गर्न चाहने व्यक्तिका लागि आवास कर्जाको सीमा २ करोडबाट ३ करोड रूपैयाँ पुर्‍याइएको छ। साथै, घर मूल्यको आधारमा दिइने लोन-टु-भ्यालु अनुपात ७० प्रतिशतबाट ८० प्रतिशत बनाइएको छ।

यसले खरिदकर्तालाई कम पुँजी राखेर बैंकमार्फत धेरै कर्जा लिन सक्ने अवसर प्रदान गर्ने मानिएको थियो। तर साउन महिनामा कारोबार वृद्धि हुने अनुमान गरिए पनि व्यवहारमा त्यसको खासै प्रभाव देखिएन।


प्रकाशित : बिहीबार , भदौ ५ २०८२१६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend