शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

अझै खुल्न सकेन पहिरोले अवरुद्ध अरनिको राजमार्ग, रोकिए दसैँ-तिहारलक्षित सामान

बिहीबार , भदौ ५ २०८२
अझै खुल्न सकेन पहिरोले अवरुद्ध अरनिको राजमार्ग, रोकिए दसैँ-तिहारलक्षित सामान

सो दिनको पानीले राजमार्गभन्दा माथि रहेको बस्ती नै जोखिममा पर्ने भएपछि हाल राजमार्ग पूर्णरूपमा बन्द भएको हो।

चौतारा- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन।

बर्खा लागेयता पटकपटक पहिरो पन्छाएर राजमार्गमा यातायात सञ्चालन गरिँदै आइएको थियो। सो दिनको पानीले राजमार्गभन्दा माथि रहेको बस्ती नै जोखिममा पर्ने भएपछि हाल राजमार्ग पूर्णरूपमा बन्द भएको हो।

सडक नखुल्दा दसैँ र तिहारलक्षित सामग्री संघीय राजधानी काठमाडौं ल्याउन पाइएको छैन। सडक बन्द भएपछि करिब एक हजार ७०० कन्टेनर तातोपानी क्षेत्र चिनियाँ भू-भागमा रोकिँदा व्यापारी समस्यामा परेका छन्।

तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दसैँअघि खुल्छ भन्न सकिने अवस्था नरहेको जानकारी दिए। उनका अनुसार अहिले तातोपानी क्षेत्रमा मात्रै करिब एक हजार सामान लोड गरेका कन्टेनर छन्।

हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए। उनी भन्छन्, 'दसैँतिहारलाई आयात गरेको सामान दसैँपछि आएर कुनै फाइदा छैन। तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ।'

चीनबाट विशेषगरी विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक वस्तु र लत्ताकपडाजस्ता वस्तु आयात हुने गरेको छ। चीनबाट आउने वस्तु विशेषगरी दसैँ-तिहारलाई आवश्यक पर्ने वस्तु हुन्। 

दसैँ-तिहारदेखि चिसोलाई आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न अहिले धेरै व्यापारी चीन पुगेका छन्। तर, छिटो र सस्तोमा सामान आयात हुने उत्तरी नाका बाढीपहिरोका कारण एक महिनादेखि बन्द भएपछि व्यापारी चिन्तित बनेका छन्। रासस


प्रकाशित : बिहीबार , भदौ ५ २०८२१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend