शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

फुसको छानो हटाउने कार्यक्रम : रकम रोकिँदा लेखर्कका विपन्न परिवार समस्यामा

बिहीबार , भदौ ५ २०८२
फुसको छानो हटाउने कार्यक्रम : रकम रोकिँदा लेखर्कका विपन्न परिवार समस्यामा

'सम्झौता गरेर ऋण काढेर गरेर जसोतसो छानो फेरियो', स्थानीय भन्छन्, ‘तर हालसम्म दोस्रो किस्ता पाएका छैनौँ। अहिले साहुले गर्दा घर नै छाड्नुपर्ने अवस्था छ।'

भोजपुर- फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ताबापतको रकम नपाउँदा यहाँस्थित टेम्केमैयुङ-९ लेखर्कका स्थानीयवासी समस्या परेका छन्। सम्झौतापश्चात् पहिलो किस्ताको रकम पाएका स्थानीयले अझैसम्म दोस्रो किस्ता पाएका छैनन्।

सघन सहरी कार्यालयमार्फत रूपैयाँ ७५ हजार पाउने गरी सम्झौता गरेर छानो फेरेको भएपनि हालसम्म पनि दोस्रो किस्ताको रकम नपाएपछि थप समस्या भएको स्थानीयवासी हर्कराज विश्वकर्माले जानकारी दिए।

'सम्झौता गरेर ऋण काढेर गरेर जसोतसो छानो फेरियो', उनले भने, ‘तर हालसम्म दोस्रो किस्ता पाएका छैनौँ। अहिले साहुले गर्दा घर नै छाड्नुपर्ने अवस्था छ। समयमा रकम पाए सहज हुने थियो। 'जस्ताको छानो लगाएको एक वर्ष बढी समय हुँदा पनि दोस्रो किस्ताको रकम नआउँदा समस्या भएको स्थानीयवासी विश्वकर्माले गुनासो गरे।

सम्झौताअनुसार पहिलो किस्ता लिएपछि छानो फेरेका वडाका १२५ परिवारले हालसम्म दोस्रो किस्ताबापतको रकम नपाएको वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले जानकारी दिए। स्थानीयको समस्याको बारेमा आफूले मन्त्रालयसम्म पुगेर जानकारी गराएको भए पनि सुनुवाइ नभएको उनले बताए।

'सम्झौतापश्चात् लाभग्राही सूचीमा परेकाहरू सबैले ऋणपान गरेर छानो फेरेका छन्', उनले भने, 'दोस्रो किस्ताबापतको रकम नपाउँदा गरिब तथा विपन्न परिवार समस्या भोगिरहेका छन्। मन्त्रालयमा गएर पनि जानकारी गराएको छु। तर सुनुवाइ भएको छैन।'

लाभग्राहीले पहिलो किस्ताबापत रूपैयाँ ४५ हजार पाएको भए पनि दोस्रो किस्ताबापतको रूपैयाँ ३५ हजार अझै नपाएको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , भदौ ५ २०८२१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend