शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल भित्रियो चिनियाँ ब्रान्ड बीएआईसी

हिमालयज भेहिकल भेन्चर आधिकारिक बिक्रेता

बिहीबार , फागुन १२ २०७८
नेपाल भित्रियो चिनियाँ ब्रान्ड बीएआईसी

बीएआईसी अन्तर्गतका कम्पनीले ३० भन्दा बढी देशमा सवारी उत्पादन गर्दै आएको र ८० भन्दा बढी देशमा बिक्री गर्दै आएको जनाएको छ।

काठमाडौं- नेपाली बजारमा चिनियाँ सवारी ब्रान्ड भित्रने क्रम उल्लेख्य रूपमा बढेको छ। एक वर्षको अवधिमा आधा दर्जनभन्दा बढी चिनियाँ ब्रान्ड नेपाल भित्रि सकेका छन्। डिजेल/पेट्रोल कारदेखि विद्युतीय कारसम्म आइरहेका छन्। 

चीनबाट दुईपांग्रेका साथै कार तथा ठूला बससम्म आयात हुन थालेका छन्। ६० को दशकको अन्त्यतिर करिब एक दर्जन चिनियाँ ब्रान्डका कार नेपाल आएका थिए। तर त्यतिबेला ब्रान्ड आएपनि त्यही अनुसार स्पेयर पार्टस तथा सर्भिसको उपलब्धता नहुँदा सवारी आयात निरन्तर हुन सकेको थिएन। 

पछिल्लो पटक भने व्यवसायिक घरानाहरुले चिनियाँ ब्रान्ड भित्र्याएकाले उनीहरुले पार्टस सर्भिस सेन्टरमा ब्रान्ड ल्याएसँगै लगानी बढाएका छन्। यसले उपभोक्तामा विश्वास बढाउँदै लगेकाले ब्रान्डहरु भित्रने क्रम बढेको हो। 

यस्तैमा चीनको बीएआईसी ब्रान्ड नेपाल भित्रिएको हो। बीएआईसी ग्रुप अन्तर्गत विभिन्न सब ब्रान्डका सवारी उत्पादन हुँदै आएको छ। बेइजिङ अटोमोटिभ इन्डस्ट्रि कर्प (बीएआईसी) ब्रान्ड नेपाली बजारमा हिमालयज भेहिकल भेन्चर प्रालिले ल्याएको हो। 

यो कम्पनीले बीएआईसीसँग आधिकारिक बिक्रेताको सम्झौता गरिसकेर आयात गर्ने तयारीमा रहेको छ। त्यसका लागि हिमालयजले काठमाडौंमा सोरुम निर्माण तथा सर्भिस सेन्टर बनाउने क्रममा रहेको कम्पनी स्रोतले बिजनेस न्युजलाई जानकारी दियो। ‘अबको केही समय भित्र औपचारिक सार्वजनिक गर्ने तयारी छ,’ स्रोतले भन्यो, ‘आधिकारिक बिक्रेता पाइसकेको र सोरुम तथा सर्भिस सेन्टर बनाउने काम सकिएपछि बीएआईसी ब्रान्ड सार्वजनिक हुनेछ।’ 

हिमालयजले सुरुमा बीएआईसी ब्रान्डको एसयूभी गाडी ल्याउन लागेको छ। क्रमैसँग अन्य कार तथा ठूला सवारी ल्याउँदै जाने कम्पनीले जनाएको छ। अहिले कम्पनीले सेल्स तथा सर्भिसको टिम समेत जोड्ने क्रममा रहेको छ। 

बीएआईसी चीनको सरकारी स्वामित्वको कम्पनी हो। यो कम्पनी ६४ वर्षअघि अर्थात १९५८ मा स्थापना भएको र यसकोृ केन्द्रीय कार्यालय बेइजिङमा छ। बीएआईसी ग्रुप अन्तर्गतका विभिन्न सब ब्रान्डहरुले कमर्सियल गाडी तथा कार उत्पादन गर्दै आएका छन्। 

बीएआईसी ग्रुप अन्तर्गत बेइजिङ मोटर, बीएआईसी बीजेईभी, बीइआईसी ओआरभी, बेइक्यू चाङघे, बेइक्यू फोटोन, बेइजिङ हुन्डाई मोटर, बेइजिङ बेन्ज अटोमोटिभ, बेइजिङ जनरल एभिएसन र बेइजिङ अटोमोटिभ टेक्नोलोजी सेन्टरलगायत कम्पनी रहेका छन्। 

बीएआईसी अन्तर्गतका कम्पनीले ३० भन्दा बढी देशमा सवारी उत्पादन गर्दै आएको र ८० भन्दा बढी देशमा बिक्री गर्दै आएको जनाएको छ। बीएआईसी ग्रुप अन्तर्गतका कम्पनीले ३४ वटा मोडलका सिरिज उत्पादन गर्दै आएको छ। 

हिमालयजले सुरुमा बीएआईसीको बीजे४० प्लस एसयूभी ल्याउने तयारी गरेको छ। बीएआईसीले पहिलो पटक २०१३ मा बीजे४० सिरिज सार्वजनिक गरेको थियो। २०१६ मा चार ढोका सहितको बीजे४० एल ल्याएको थियो।

BAIC_BJ40_Plus_2021.jpg 

अहिले बीएआईसी बीजे४० प्लस २.० टर्बो र २.३ टर्बो इन्जिनमा उपलब्ध रहेको छ। २.० इन्जिनयुक्त एसयूभीले २८० एनएम टर्क र २ सय ४ एचपी पावर र २.३ लिटर इन्जिनले २ सय ५० एचपी पावर र ३५० एनएम टर्क दिन्छ। कम्पनीले अन्य मोडलका सवारीसमेत उपलब्ध गराउँदै जाने जनाएको छ। 

बीएआईसीले विद्युतीय सवारी समेत उत्पादन गर्दै आएको छ। नेपाली बजारमा पनि विद्युतीय सवारीको बिक्री बढ्दो क्रममा रहेकाले हिमालयज भेहिकल भेन्चरले ल्याउने योजना बनाएको छ।


प्रकाशित : बिहीबार , फागुन १२ २०७८१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend