काठमाडौ- नेपालमा हालैको मौसम पूर्वानुमानअनुसार मनसुन केही कमजोर देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कि मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले देशभर मनसुनको सक्रियता सामान्यतया घटेको छ।
महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने जारी छ। बिहीबार दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रहने छ भने बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। दिउँसो पहाडी भू-भागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति देशभर साधारणतया बदली रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको छ भने बाँकी भू-भागका थोरै स्थानमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। रासस