शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

हेवाखोलामा निर्मित पुल उद्घाटन गर्दै पूर्वाधारमन्त्रीले भने - अब कुनै पनि ठाउँ दुर्गम रहँदैन

बुधबार, भदौ ४ २०८२
हेवाखोलामा निर्मित पुल उद्घाटन गर्दै पूर्वाधारमन्त्रीले भने - अब कुनै पनि ठाउँ दुर्गम रहँदैन

पूर्वाधारमन्त्री देवेन्द्र दाहालले भने, ‘अब पनि कुनै भागमा सडक पुगेन, यो क्षेत्र त दुर्गमै रह्यो भन्ने अवस्था आउँदैन र आउन दिइँदैन।’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अब नेपालको कुनै पनि भाग दुर्गम रहन नसक्ने बताएका छन्।

बुधबार मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्मित बेलिब्रिजको उद्घाटनपश्चात् मन्त्री दाहालले सडक तथा यातायातको पहुँच नपुगेकै कारण देशको कुनै पनि भाग र क्षेत्रलाई दुर्गम हुन नदिइने उनले बताए।

देशका ७७ वटै जिल्लामा सडक सञ्जाल पुर्‍याइको भन्दै उनले आवश्यक स्थानका सडकहरु थप स्तरीकरण र निर्माण पनि गरिने बताए। मन्त्री दाहालले भने, ‘अब पनि कुनै भागमा सडक पुगेन, यो क्षेत्र त दुर्गमै रह्यो भन्ने अवस्था आउँदैन र आउन दिइँदैन।’

सरकारले राष्ट्रिय गौरवका एवम् रुपान्तरणकारी आयोजना, छिमेकी देशसँगको यातायात पहुँच स्थापित गर्ने, अन्य राष्ट्रिय राजमार्ग, ठूलो जनसंख्यालाई लाभ पुर्‍याउने तथा नागरिकको आर्थिक विकासमा पनि टेवा पुर्‍याउने योजनाहरुलाई प्राथमिकता दिएको उनले उल्लेख गरे।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार ३ करोड ४९ लाख रूपैयाँको लागतमा दोभान-सुपरसौगात-लाइट विल्डर्स जेभीले सो पुल जडान गरेको हो। कार्यस्थलमा आधारित १० दिने तालिमसहित सो पुल जडान गरिएको उनले बताए।

भारतको सहयोगमा निर्माण भएको उक्त पुलको ७०.१०४ मिटर लामो र ४.२५ मिटर चौडा रहेको छ। 

मेची राजमार्ग हुँदै पाँचथरको हिलिहाङ, याङ्वरक, फालेजुङसहित ताप्लेजुङ जिल्लालाई जोड्ने सो स्थानको पुल २०८० को बाढीले बगाएको थियो। त्यसलगत्तै बनाईएको बेलिब्रिजसमेत २०८१ असोजमा आएको बाढीले बगाएपछि सडक विभाग तथा मन्त्रालयले उच्च प्राथमिकता दिएर पुनः अर्को बेलिब्रिज जडानको कार्य अघि बढाएको थियो।


प्रकाशित : बुधबार, भदौ ४ २०८२१७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend