शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेका गौरवका आयोजना अधुरै, बजेटले निरन्तरता नपाउँदा पूर्णता पाउन सकेन

बुधबार, भदौ ४ २०८२
अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेका गौरवका आयोजना अधुरै, बजेटले निरन्तरता नपाउँदा पूर्णता पाउन सकेन

समयमा काम हुन नसक्दा योजनाको निर्माण अवधि लम्बिएको मात्र छैन नागरिकले सेवा सुविधा उपभोग गर्न पाएका छैनन्।

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेका गौरवका आयोजना अधुरा छन्। समयमा काम हुन नसक्दा योजनाको निर्माण अवधि लम्बिएको मात्र छैन नागरिकले सेवा सुविधा उपभोग गर्न पाएका छैनन्।

आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन भएका सेकार्कु तातोपानी, रुप्से झरना पूर्वाधार निर्माण र खिवाङ-घराम्दी सडक निर्माण योजना पूरा हुन नसकेका हुन्। अघिल्लो आर्थिक वर्षदेखि नै सुरु भएका प्रभा मावि नारच्याङ र पाउद्धार माविको भवनले पनि पूर्णता पाउन सकेको छैन।

कालीगण्डकी निर्माण सेवाले २०८१ असार ६ गते एक करोड १७ लाख ८४ हजार ६३० रूपैयाँमा ठेक्का सम्झौता गरेको सेकार्कु तातोपानी कुण्डको पूर्वाधार निर्माण योजनाको ५४ प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाका सबइन्जिनियर करिम मुल्लाह मियाँले बताए।

उनका अनुसार सुन्दर निर्माण सेवाले २०८१ साल जेठ ३० गते रुप्से झरनामा पूर्वाधार निर्माणका लागि तीन करोड २२ लाख ७० हजार ७७८ रूपैयाँमा ठेक्का सम्झौता गरेको योजनाको ४६ प्रतिशत प्रगति भएको छ।

निर्माण कम्पनीले ५५ लाख ४० हजार ८८१ रूपैयाँमा ठेक्का सम्झौता गरेको खिवाङ-घराम्दी सडक योजनाको ५५ दशमलव ५१ प्रतिशत भौतिक प्रगति भएको छ। आव २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्य पूरा सेकार्कु तातोपानी, रुप्से झरना, खिवाङ-घराम्दी सडकको म्याद थपिएको छ।

विसं २०८१ जेठ १७ गते निम्बेल/कृपेश जेभीले तीन करोड ६१ लख ८३ हजार २८१ रूपैयाँमा ठेक्का पाएको योजनाको हालसम्मको भौतिक प्रगति २२ प्रतिशत छ। आव २०८०/८१ देखि सुरु भएको दाना स्वास्थ्यचौकीको भवन निर्माणले गत आवमा पूर्णता पाएको छ।

तीन करोड ८४ लाख रूपैयाँमा ठेक्का सम्झौता भइ आव २०८०/८१ देखि सुरु भएको प्रभा माविको पूर्वाधार निर्माण योजनाको बजेटले गतवर्ष निरन्तरता नपाउँदा पूर्णता पाउन सकेन। २० लाख रूपैयाँभन्दा बढी बजेट विनियोजन भएको र ठेक्कामार्फत सञ्चालित मध्य बैसरी-हल्लेखर्क-कुरमुनि खानेपानी योजना र राम्चे वडा कार्यालयको भवनमात्र सम्पन्न भएको छ। 

प्रतिकूल भूगोल, निर्माण व्यवसायीले समयमा काम नगर्ने प्रवृत्ति र दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको कमीलगायत कारणले योजना कार्यान्वयनमा चुनौती सृजना भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

अन्नपूर्णमा गत वर्ष एकसय ३४ वटा योजना कार्यान्वयन भएकामध्ये पाँच लाख रूपैयाँसम्म बजेट विनियोजन भएका योजनाको सङ्ख्या ७४ वटा थिए। गाउँपालिकास्तरीय १२ र वडास्तरीय एकसय २२ वटा योजना कार्यान्वयन भएको गाउँपालिकाका प्रशासकीय अधिकृत भगवती कटुवालले बताए।

उनका अनुसार ५० लाख रूपैयाँभन्दा बढी बजेटका चार, २५ देखि ५० लाख बजेटका तीन र पाँचदेखि २५ लाख बजेटका ५३ वटा योजना कार्यान्वयन भएका थिए। ठूला योजना कार्यान्वयन फितलो हुँदा गाउँपालिकाको गत आर्थिक वर्षको पुँजीगततर्फको प्रगति ५० दशमलव ३७ प्रतिशतमात्र छ। पुँजीगत शीर्षकमा १९ करोड ९१ लख ५३ हजार रूपैयाँ विनियोजन भएकामा १० करोड तीन लाख चार हजार रूपैयाँ अथवा ५० दशमलव ३७ प्रतिशतमात्र खर्च भएको हो। रासस


प्रकाशित : बुधबार, भदौ ४ २०८२१४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend