शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

मिलनचोक-लेखफाँट-शालिजा सडक कालोपत्र सुरु

बुधबार, भदौ ४ २०८२
मिलनचोक-लेखफाँट-शालिजा सडक कालोपत्र सुरु

गत आवमा मिलनचोकबाट लुङ्दी खोलाको मोटरेबल पुलसम्म प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति भइ कालोपत्र भइसकेको छ।

पर्वत- जिल्लाको उत्तरी गाउँपालिका जलजला-७ मिलनचोकबाट वडा नं ६ शालिजा जोड्ने मिलनचोक-खोलाखेत-धौलापहरा-शालिजा सडक आयोजनाअन्तर्गत वडा नं ४ खोलाखेतमा सडक कालोपत्र गर्न सुरु भएको छ।

लुङ्दीखोला मोटरेबल पुलबाट खोलाखेत खेलमैदानसम्मको सडक स्तरोन्नति ढलान गर्न सडक डिभिजन कार्यालय पोखराले गर्न गत आर्थिक वर्षको बैशाखमा दुई खण्डमा ठेक्का लगाएको थियो। गत आवमा संघीय सरकारबाट विनियोजन भएको पाँच करोड १५ लाख रूपैयाँको लागतमा थालिएको सडक स्तरोन्नति अहिले तीव्र गतिमा भइरहेको छ।

सडक निर्माणको जिम्मा लिएको माछापुच्छ्रे निर्माण सेवाले पहिलो खण्डअन्तर्गत सडक फराकिलो, ग्रेड सुधार, नाली निर्माण, टेवा पर्खाललगायत संरचनाको काम सकेर कालोपत्र गर्न लागेको हो। पहिलो खण्डमा खोलाखेतमा करिब सातसय ४० मिटर सडक कालोपत्र गरिने छ भने दोस्रो खण्डमा स्तरोन्नतिको काम तीव्र रूपमा भइरहेको निर्माण व्यवसायी कलाधर आचार्यले जानकारी दिए। उनका अनुसार आगामी असोजसम्म दोस्रो खण्डको काम पनि सम्पन्न हुनेछ।

खोलाखेतमा सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सबबेस र बेस बिछ्याउने काम सकेर ६ मिटर चौडाइ र  सातसय ४० मिटर दुरीमा कालोपत्र गर्न प्राइम कोट (बिटुमिन) बिछ्याउन थालिएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर लोकेश पौडेलले जानकारी दिए। उनका अनुसार मौसम अनुकूल भए १० देखि १५ दिनभित्रमा यो खण्डमा कालोपत्र गर्ने काम सकिने छ।

गत आवको असार मसान्तसम्म ठेक्काको म्याद भए पनि विभिन्न कारणले आयोजना सम्पन्न गर्न ढिलाइ भएकाले आगामी पुस मसान्तसम्म म्याद थप गरिएको उनले जानकारी दिए। जलजला गाउँपालिकाका चारवटा वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलव्ध गराउनका लागि सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो।

गत आवभित्र आयोजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएकामा ढिलागरी ठेक्का आह्वान भएको र वर्षायामका कारण ६ महिना म्याद थप भएको थियो। आगामी पुस समान्तसम्म सक्नुपर्ने काम असोजमा सम्पन्न हुने निर्माण व्यवसायी आचार्यको दाबी छ।

यो सडकको करिब दुई दशकअघि ट्रयाक खोलिएको थियो। तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नं ५ लेखफाँट हुँदै ६ नं वडा शालिजा जोड्ने कृषि सडक जीर्ण हुँदा किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म लैजान समस्या भोग्दै आएका थिए।

गत आवमा मिलनचोकबाट लुङ्दी खोलाको मोटरेबल पुलसम्म प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति भइ कालोपत्र भइसकेको छ।

कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण र आवतजावतमा सर्वसाधरणले वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएपछि स्थानीय उत्साहित भएका जलजला-४ का वडाध्यक्ष भरत क्षेत्रीले बताए।

सडक स्तरोन्नति भएपछि जलजलाको वडा नं ४ खोलाखेत, वढा नं ५ को रातामाटा, लेखफाँट, वडा नं ६ को भोटेडाँडा, शालिजा र ठोट्नेरीका साथै छिमेकी जिल्ला म्याग्दीका स्थानीय लाभान्वित हुनेछन्। रासस


प्रकाशित : बुधबार, भदौ ४ २०८२१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend