काठमाडौं- सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ।
पाँचपोखरी थाङ्पालमा गाउँपालिका-७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माण भइरहेको उक्त प्रतिमा धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गाउँपालिका अध्यक्ष टाशी लामाले बताए।
पालिकाले गौरवको योजनाका रूपमा प्रतिमा निर्माण चार वर्षदेखि सुरु गरेको हो। 'प्रतिमा निर्माण एउटै ढुंगाबाट भइरहेको छ, हाल बुद्धको शिर निर्माण सकिएको छ', उनले भने।
अध्यक्ष लामाका अनुसार उक्त परियोजनाको अनुमानित लागत तीन करोड रूपैयाँ छ भने आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा निर्माण भइरहेको उनले जानकारी दिए।
'सामान्यतया प्रतिमा निर्माण ढुंगाका टुक्रा जोडेर निर्माण गरिन्छ, तर हामीले एउटै ढुंगाबाट प्रतिमा निर्माण गरिरहेका छौँ', उनले भने।
यहाँको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीयको आर्थिक समृद्धिमा टेवा पुर्याउन र पाँचपोखरी थाङ्पाललाई आध्यात्मिक भूमि र अन्तरराष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजनाअघि सारेको उनको भनाइ छ। अध्यक्ष लामाले प्रतिमा निर्माणमा आर्थिक सहयोग गर्नेहरुको नाम शिलामा लेखिने बताए। रासस