जनकपुर- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मधेसको कृषि क्षेत्रमा अहिले देखिएको समस्या सम्बोधन गर्न आफूले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी पहलकदमी लिने बताएका छन्।
मधेस प्रदेशमा कृषिको अवस्था, रासायनिक मलको उप्लब्धता, किसानले भोग्नुपरेको समस्यालगायतका विषयमा जानकारी लिन सांसदको टोलीसहित जनकपुर पुगेका मन्त्री अधिकारीले समाधानको पहल थाल्ने बताए।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा भएको छ्लफलमा मन्त्री अधिकारीले उखु किसानको समस्या तथा कृषिमा आधुनिकीकरणको योजना, मधेसको कृषियोग्य भूमिमा सिँचाइको अवस्थाबारे पनि जानकारी लिएका थिए।
मन्त्री अधिकारीले छ्लफलमा मधेस प्रदेशमा अहिले कृषि क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न संघीय सरकारले उच्च प्राथमिकता दिएको र रासायनिक मललगायतमा दिँदै आएको सहुलियतको मात्रा बढाउन मन्त्रालयले पहल गरिरहेको बताए।
छलफलमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह, मधेस प्रदेश कृषिमन्त्री जनार्दनसिंह क्षेत्री, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री रामकृष्ण यादव, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री अमनलाल मोदी, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री हरिप्रसाद उप्रेती, प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मालगायत उपस्थित थिए।
छलफलका क्रममा उठेका विषयवस्तुलाई तत्काल सम्बोधन गर्न संघीय सरकारले प्रदेश र स्थानीय सरकारसंग सहकार्य गरी तत्कालीन, अल्पकालीन र दिर्घकालीन किसिमको योजना तर्जुमा गरी कार्यान्वयन गर्न/गराउन आवश्यक पहलकदमी लिने मन्त्री अधिकारीले बताए।