आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पाँचबुँदे आह्वान जारी गर्दै हिन्दुकुश हिमालय सांसद सम्मेलन सम्पन्न

मंगलबार, भदौ ३ २०८२
पाँचबुँदे आह्वान जारी गर्दै हिन्दुकुश हिमालय सांसद सम्मेलन सम्पन्न

सम्मेलनले साझा पारिस्थितिक, सामाजिक तथा आर्थिक महत्व बोकेको हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु संकट, प्रदूषण र जैविक विविधताको क्षति समुदाय र पारिस्थितिकी प्रणालीका लागि गम्भीर चुनौती भएको निष्कर्ष निकालेको छ।

काठमाडौं- प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलोपटक भएको हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदको बैठक पाँचबुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ।

‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ मुल विषयका साथ यही भदौ २ र ३ गते काठमाडौंमा भएको उक्त सम्मेलन आज सम्पन्न भएको हो।

यस क्षेत्रका मुलुकका सांसद तथा प्रतिनिधिले काठमाडौंमा सम्पन्न ‘हिन्दुकुश हिमालय सांसद सम्मेलन २०२५’बाट क्षेत्रीय सहकार्यद्वारा जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधता संरक्षणका क्षेत्रमा तत्काल कारबाही गर्न आह्वान गरेका छन्। समापन कार्यक्रममा आयोजक समितिका संयोजक तथा समिति सदस्य वीरबहादुर बलायरले बैठकको निष्कर्षबारे जानकारी गराएका थिए।

सम्मेलनले साझा पारिस्थितिक, सामाजिक तथा आर्थिक महत्व बोकेको हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु संकट, प्रदूषण र जैविक विविधताको क्षति समुदाय र पारिस्थितिकी प्रणालीका लागि गम्भीर चुनौती भएको निष्कर्ष निकालेको छ।

त्यस्तै, सम्मेलनले भावी पुस्ताको सुरक्षित भविष्यका लागि जलवायु सहनशीलता, स्वच्छ वायु र जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ। साथै सांसदहरूको विधायिकी भूमिकालाई प्रभावकारी बनाउँदै क्षेत्रीय एकता, समावेशी विकास र दिगोपनाका लागि सहकार्य गर्न आह्वान गरिएको छ।

पाँच बुँदे आह्वानमा हिन्दुकुश हिमालय सांसद सम्मेलनलाई नियमित आयोजना गर्ने, क्षेत्रीय संवादका लागि ‘हिन्दुकुश हिमालय सांसद मञ्च’ स्थापना गर्ने सम्भावना खोज्नेलगायत विषय उल्लेख छन्।

साथै जलवायु परिवर्तन, जैविक विविधता र वायु गुणस्तरसँग सम्बन्धित नवीनतम वैज्ञानिक प्रमाण, अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने, सांसदहरूको निगरानी भूमिकालाई सबल बनाउने तथा दोस्रो सम्मेलनलाई आपसी सहमतिअनुसार उपयुक्त मिति र स्थानमा आयोजना गर्ने उल्लेख छ।

हिन्दुकुश हिमालय क्षेत्रमा अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान पर्दछन्। रासस


प्रकाशित : मंगलबार, भदौ ३ २०८२१४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend