आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

फर्जी कागजात बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेका ओझा बर्खास्त, नयाँ नियुक्तिको बाटो खुल्यो

सोमबार, भदौ २ २०८२
फर्जी कागजात बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेका ओझा बर्खास्त, नयाँ नियुक्तिको बाटो खुल्यो

यहीबीच सरकारले ओझाको कार्यक्षमता तथा योग्यताको जाँच गर्न भन्दै पूर्वन्यायाधीसको नेृत्वमा छानवीन समिति बनाएको थियो। उक्त न्यायीक समितिले ओझाको योग्यता नपुगेको राय सरकारलाई दिएको थियो।

काठमाडौं- निलम्बनमा रहेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेको छ। आफैले नियुक्त गरेका ओझालाई सरकारले छ महिनामै बर्खास्त गरेको हो। 

फागुन १३ गते अध्यक्षमा नियुक्त भएका ओझाको योग्यतामा प्रश्न उठ्दै आएको थियो। अनुभवको फर्जी कागज बनाएको भन्दै किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको थियो। त्यस्तै उनको योग्यता सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ। 

यहीबीच सरकारले ओझाको कार्यक्षमता तथा योग्यताको जाँच गर्न भन्दै पूर्वन्यायाधीशको नेृत्वमा छानबिन समिति बनाएको थियो। उक्त न्यायिक समितिले ओझाको योग्यता नपुगेको राय सरकारलाई दिएको थियो। 

समितिको रायका आधारमा अर्थ मन्त्रालयले ओझालाई स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। योसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई सहमति पनि दिएको छ। 

अर्थमन्त्री विष्णु पौडेल आफैले शपथ खुवाएका ओझालाई आफैले बर्खास्तीको पत्र दिनुपर्ने अवस्थामा पुगेका छन्। 

ओझाले व्यवस्थापकीय अनुभव लिएको भनेर पेस गरेका कागजात फर्जी भएको समितिले ठहर गरेको थियो। ओझाले कानूनले निर्धारण गरेको शैक्षिक योग्यता र अनुभवको प्रमाणहरू पेस गरेका थिए। 

विभिन्न कलेजहरूमा अध्यापन गराएको तथा मिडियामा समाचार रिपोर्टिङ गरेको अनुभवलाई उच्च व्यवस्थापकीय अनुभव दाबी गर्दै कागजात पेस गरेका थिए। तर समितिले यसमा परीक्षण गर्दा फर्जी देखिएको थियो। 


प्रकाशित : सोमबार, भदौ २ २०८२२२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend