आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दसैँमा अनलाइन टिकटलाई प्राथमिकता, दीर्घकालीन सडक मर्मत गर्न र टिकटमा कालोबजारी रोक्न जोड

मंगलबार, भदौ ३ २०८२
दसैँमा अनलाइन टिकटलाई प्राथमिकता, दीर्घकालीन सडक मर्मत गर्न र टिकटमा कालोबजारी रोक्न जोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा भने यातायात व्यवसायीसँग विगतको जसरी नै छलफल गरेर दसैँको यात्रा सहज बनाउने बताउँछन्।

काठमाडौं- सरकारले आगामी दसैँका लागि लामो दुरीका सवारीसाधनको टिकट अनलाइनबाट काट्ने व्यवस्थालाई बढी प्राथमिकता दिने भएको छ। विगतका केही वर्षदेखि प्रयोगमा आउन थालेको अनलाइन टिकटको सिस्टमलाई यो वर्षको दसैँमा बढी प्राथमिकतामा राख्ने भएको हो।

भौतिकरुपमै उपस्थित भएर टिकट काट्दा बसपार्कहरुमा लाइन धेरै हुने, समय खेर जाने तथा ठगिने जोखिम भएकाले अनलाइन टिकटलाई प्राथमिता दिन लागेको यातायात व्यवस्था विभागका उपसचिव एवं निर्देशक नरहरि तिवारीले बताए। ‘हामीले अनलाइन टिकेट बुकिङलाई फोकस गर्न खोजेका छौँ, त्यसका लागि यातायात व्यवसायीहरुसँग छलफल गर्न बाँकी छ’ निर्देशक तिवारीले भने।

यद्यपि यातायात व्यवसायीहरुले ३५ प्रतिशत भाडा डिजेल/पेट्रोलको मूल्यवृद्धि र ६५ प्रतिशत भाडा सडकको अवस्थाका कारण इन्जिन मर्मतलाई आधार मानेर समायोजनको विषय उठाएको उनको भनाइ छ।

तर तत्काल भाडा समायोजन हुन्छ वा हुँदैन भन्ने विषयमा यकिन जवाफ दिन नसक्ने निर्देशक तिवारीले बताए। साथै दसैँको यात्रा सहजताका लागि स्थानीय प्रशासन र प्रहरीसँग सहकार्य गर्ने विभागले जनाएको छ।

त्यस्तै आवश्यकताका आधारमा निजी विद्यालय एवं नेपाली सेनाका बसलाई पनि प्रयोग गरेको विगतको अभ्यासअनुसार यो वर्षको दसैँमा पनि जान सकिने उनले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा भने यातायात व्यवसायीसँग विगतको जसरी नै छलफल गरेर दसैँको यात्रा सहज बनाउने बताउँछन्।

‘यो वर्ष नयाँ कुरा केही हुँदैन, विगतको जसरी नै दसैँको यात्रा सहज बनाउन छलफल हुन्छ’ सचिव शर्मा भन्छन्, ‘घटस्थापनाभन्दा १५ दिन पहिलाबाट अग्रिम टिकट बुकिङ खुला गर्ने र सकेसम्म अनलाइनबाट काम गर्ने विषय रहन्छन्।’

साथै अन्तरदेश जोड्ने रसुवा र अरनिको राजमार्गको कोदारी खण्ड भने दसैँअगाडि सञ्चालन गर्न नसकिने उनको भनाइ छ। त्यसबाहेक बिपी राजमार्ग अस्थायी सञ्चालनका लागि समस्या नभएको, कान्ति लोकपथमा पर्ने बागमती खोला र मेची राजमार्गको हेवा खोलामा पनि बेलिब्रिज हालेर सञ्चालनमा ल्याइसकेकाले अवरुद्ध हुने सम्भावना नभएको सचिव शर्माको भनाइ छ।

रसुवागढी सडक नेपालतर्फ एक हप्तामा सञ्चालन हुने तर मितेरी पुल नहुँदा दसैँमा यात्रा गर्न नसकिने उनको भनाइ छ। यद्यपि चिनियाँ राजदूतले नै पुल बनाउने बताएकाले त्यसको चिन्ता नेपाललाई नभएको पनि उनले प्रष्ट पारेका छन्।

त्यस्तै बुटवल-दाउन्नेमा विनयी खोला पुलको समस्या समाधान भइसकेको तथा देशका अन्य राजमार्गमा सार्वजनिक खरिद ऐनको ‘अमानती व्यवस्था’ (काम गरेपछि बिल पेस गरेर कार्यालयले भुक्तानी लिन मिल्ने) अनुसार सडक मर्मतको काम भइरहेको उनले बताए।

दसैँलक्षित सडक मर्मतका लागि पटके मर्मतको ठेक्का व्यवस्थापन भएको सडक विभागका विभागका महानिर्देशक डा. विजय जैसीले बताए। विभागका अनुसार गतवर्षको भन्दा १३ वटा बढी मेसिन यो वर्षको बर्खामा प्रयोगका लागि तयारी अवस्थामा छन्। कुल २ सय २७ स्थानमा मेसिन राखिएको छ। जसमध्ये १५४ वटा सम्भावित जोखिमयुक्त स्थानमा छन् भने १ सय २३ वटा मेसिन डिभिजन एवं हेभी इक्यूपमेन्ट कार्यालयमा तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।

गतवर्ष बर्खाको बाढी पन्छाएर यातायात सहज बनाउन २ सय १४ वटा मेसिन विभागले परिचालन गरेको थियो। उक्त मेसिनहरु रातको समयभन्दा बाहेक ३० देखि ६० मिनेटसम्म घटनास्थल पुग्ने र चार घण्टाभित्र पहिरो सफा गरी यातायात सुरु गर्नेगरी तयारी राखिएको विभागका महानिर्देशक जैसी बताउँछन्। 

दीर्घकालीन सडक मर्मत र बिचौलियका प्रवेशमा कडाइ गर्नुपर्ने

भौतिक मन्त्रालय र सडक विभागका प्रतिनिधिले अस्थायी मर्मतको कुरा गरिहदा संघीय सांसदहरुले भने दीर्घकालीन मर्मतमा ध्यान दिनुपर्नेमा जाोड दिइरहेका छन्। सांसद निशा डाँगीले सडक निर्माणमा अल्पकालीनभन्दा दीर्घकालीन समस्या समाधानमा ध्यान दिनुपर्ने बताएकी छिन्। जलवायु परिवर्तन भएअनुसारका संरचना निर्माण गर्न मन्त्रालयले ध्यान दिनुपर्ने उनको भनाइ छ।

सांसद दयालबहादुर शाहीले चाडवाडको बेलामात्रै भौतिक मन्त्रालय चर्चामा आउने अनि फेरि सेलाउने भइरहेको बताएका छन्।

‘संकट कति बेला आउँछ थाहा हुँदैन, भौतिक मन्त्रालय बाढी जादा, दसैँ/तिहार आउँदामात्रै होइन बाह्रै महिना सक्रिय भएर काम गर्नुपर्छ’ सांसद शाहीले भने।

त्यस्तै सांसद माधव सापकोटाले चाडवाडको बेला महँगी बढ्न नदिन चीन जोड्ने नाका खुलाउनु पर्नेका जोड दिएका छन्।

‘यदि चीनतर्फका नाका खुलेनन् भने दसैँको बजार महँगिने निश्चित छ। त्यतिमात्रै होइन नेपाली व्यवसायीहरुले अर्डर गरेका सामान खेर जान्छन्, त्यो राज्यकै नोक्सानीको रुपमा हामीले बुझेर काम गर्नुपर्छ’ सांसद सापकोटाले भने।

सांसदहरु प्रकाश ज्वाला, सुशीला श्रेष्ठ, सीता गुरुङ, दीपकबहादुर सिंहले अनलाइन टिकटमा हुने ठगीका विषयमा सचेत रहन मन्त्रालय र यातायात व्यवस्था विभागलाई आग्रह गरेका छन्।

टिकटमा ठगीका साथै क्षमताभन्दा बढी यात्रु बोक्ने विषय ट्राफिक प्रहरीले पनि हेर्नुपर्ने सांसद श्रेष्ठ बताउँछिन्।

‘ट्राफिकको काम चिट काट्नेमात्रै होइन, सवारी चालकले बढी यात्रु बोकेको पनि हेर्नु पर्‍यो, देशभरी भएका ट्राफिकले ध्यान दिने हो भने धेरै समस्या कम हुन्छ’ उनले भनिन्।

त्यस्तै प्रकाश ज्वालाले बसपार्कबाट सिट क्षमताअनुसार नै यात्रु बोक्ने र बीचबाट थप्दै जाने गरेकाले दुर्घटना बढेकोले विभागले ध्यान दिनुपर्ने बताए।

सांसद दीप सिंहले दसैँको मौका छोपेर तीन गुणासम्म भाडा लिएको गुनासो यात्रुबाट आउने गरेकाले विभागले कडाइ गर्नुपर्ने बताए।

उनी भन्छन्, ‘बिचौलियाले धेरै टिकट किनेर राख्छन् र २/३ दिनमै प्याक भयो भनेर बढी पैसामा अरुलाई बेच्छन्, त्यसलाई पनि ख्याल गर्नुपर्छ।’ 


प्रकाशित : मंगलबार, भदौ ३ २०८२१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend