शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, मधेसमा सबैभन्दा कम

सोमबार, भदौ २ २०८२
मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, मधेसमा सबैभन्दा कम

कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ।

काठमाडौं- मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गतवर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो।

कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ। मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए।

हालसम्म कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ९७.२७ प्रतिशत, गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ भएको छ।

देशभर करिब १३ लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ। मुलुकभर करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। भदौ दोस्रो सातासम्म केही प्रतिशत रोपाइँ वृद्धि हुने अनुमान गरिएको छ।

धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। तराईमा कुल उत्पादनको ७० प्रतिशत र पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जनाइएको छ। आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार दुईसय ३४ मेट्रिकटन धान उत्पादन भएको थियो।

यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने जनाइएको छ। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२१५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend