शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिन्धुपाल्चोकमा ड्रागनफ्रुट खेतीप्रति आकर्षण बढ्दै

सोमबार, भदौ २ २०८२
सिन्धुपाल्चोकमा ड्रागनफ्रुट खेतीप्रति आकर्षण बढ्दै

एकपटक लगाएको बिरुवाबाट वर्षौँसम्म आम्दानी लिन सकिने, सजिलो खेती प्रविधि र राम्रो बजार मूल्य भएकाले परम्परागत खेती छोडेर किसान व्यावसायिक ड्रागनफ्रुट खेतीतर्फ आकर्षित हुन थालेका हुन्।

चौतारा- वर्षमा दुईपटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय सिन्धुपाल्चोकका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन्। सुक्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन्।

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका-१४ डडुवाका किसान ज्ञानेन्द्र मैनालीले पछिल्लो दुई वर्षदेखि ड्रागनफ्रुटखेती सुरू गरेका छन्। सात रोपनी जमिनमा लगाएको ड्रागनफ्रुटले अहिले उत्पादन दिन थालेपछि उनले आम्दानीसमेत गर्न थालेका हुन्।

मैनालीले वर्षमा दुईपटक बजारमा यो फल बिक्री गर्छन्। उनले खेतबाट प्रतिकिलो ३५० देखि ४०० रूपैयाँसम्ममा ड्रागनफ्रुट बिक्री गर्दै आएका छन्। वर्षमा करिब एक हजार केजी बिक्री गरी आम्दानी गरिरहेको बताउने उनी परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने देखिएपछि यस खेतीप्रति थप उत्साहित भएको बताउँछन्।

बाँझो जमिनलाई फल्ने बनाउने उनको यो प्रयास केवल व्यक्तिगत सफलता होइन, सिंगो गाउँले अनुकरण गर्न सक्ने उदाहरणीय कृषि क्रान्ति पनि हो। दुई वर्षको मेहनत र माटोसँगको निरन्तर सम्बन्धपछि ती बिरुवाहरूले फल दिन थालेको मनालीको भनाइ छ। उनले भने, 'यो खेती केवल व्यावसायिकरूपमा फाइदाजनक होइन, भविष्यको दिगो आधार बन्न सक्छ।'

त्यस्तै, साँगाचोकको पोखरेमा चौतारा छापका सुशील श्रेष्ठको करिब पाँच रोपनी जग्गामा ड्रागनफ्रुटको खेती छ। यहाँ करिब ४०० बिरुवा रोपिएका छन्। अहिले सबै बोटबाट रातो र सेतो जातका ड्रागनफ्रुट फल उत्पादन भइरहेको छ। उनले उत्पादन गरेको फल खरिद गर्न व्यापारीहरू बगानमै आउँछन्। ज्येष्ठदेखि कात्तिकसम्ममा दुईपटक फल बेचेर आम्दानी गर्दै आएको उनी बताउँछन्।

खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनाका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो। बजारमा ड्रागनफ्रुट प्रतिकिलो ६५० देखि ८५० सम्ममा किन्न पाइन्छ। नेपालमा पहिलोपटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गरेका हुन्।

पछिल्लो समय सिन्धुपाल्चोकमा किसानको ‘ड्रागनफ्रुट’ खेतीप्रति आकर्षण बढ्दै गएको छ। एकपटक लगाएको बिरुवाबाट वर्षौँसम्म आम्दानी लिन सकिने, सजिलो खेती प्रविधि र राम्रो बजार मूल्य भएकाले परम्परागत खेती छोडेर किसान व्यावसायिक ड्रागनफ्रुट खेतीतर्फ आकर्षित हुन थालेका हुन्। यसले सिन्धुपाल्चोकमा व्यावसायिक कृषि विस्तारको नयाँ सम्भावना पनि देखाएको छ।

कृषि प्राविधिकहरूका अनुसार ड्रागनफ्रुट खेतीका लागि सिन्धुपाल्चोकको हावापानी उपयुक्त छ। यो खेती एकपटक लगाएपछि १५-२० वर्षसम्म फल दिने, कम सिँचाइ र कम मलको आवश्यकता हुने तथा बजार मूल्य उच्च हुने भएकाले कृषकहरूका लागि लाभदायक विकल्प हो। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend